शीर्ष नेतृ पनि पराजयको शिकार



प्रशान्त वली, काठमाडौं
हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ पाँच जना महिला उम्मेदवार निर्वाचित भएका छन्। ती सबै निर्वाचित उम्मेदवार वाम गठबन्धनका रहेका छन्। मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनमा रोल्पा पूर्वबाट माओवादी केन्द्रका उम्मेदवार कमला रोकाले जित हात पार्नुभएको छ। कांग्रेसका हरिशंकर घर्तीलाई पराजित गर्दै रोका विजयी हुनुभएको हो।

यस्तै, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पम्फा भुसाल पनि ललितपुरबाट निर्वाचित हुनुभएको छ। उहाँले ललितपुर–३ बाट कांग्रेसका उम्मेदवार मदन अमात्यलाई पराजित गर्नुभयो।

त्यस्तै नेकपा एमालेकी पवित्रा निरौला खरेल झापा–२ बाट विजयी हुनुभएको छ। उहाँले कांग्रेसका उम्मेदवार उद्धव थापालाई हराउँदै निर्वाचित हुनुभएको हो। त्यस्तै, कञ्चनपुर १–मा माओवादी केन्द्रकी विना मगर कांग्रेसका दिवानसिंह विष्टलाई हराउँदै निर्वाचित हुनुभएको थियो। त्यसै गरी प्युठानमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले जित हात पार्नुभएको छ। उहाँले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई पराजित गर्नुभएको हो।

निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगे पनि न्यून मात्रामा महिला उम्मेदवार निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ जना र प्रदेशसभा सदस्यका लागि ३ सय ३० उम्मेदवार निर्वाचित हँुदै छन्। हालै सम्पन्न निर्वाचनमा ५ हजार १ सय ५२ जना उम्मेदवारमध्ये ३ सय ७१ जना महिलाले विभिन्न दलबाट आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

अहिलेसम्म नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको चुनावमा एक जना महिलाले पनि जित्न सकेका छैनन्। यसअघि देशकै पहिलो पार्टी बनेको कांग्रेस यसपटक प्रत्यक्षतर्फको नतिजामा तेस्रो दलमा खुम्चिएसँगै महिलाको प्रतिनिधित्व शून्यमा झरेको देखिएको छ।

कैलालीबाट उम्मेदवारी दिनुभएकी आरजु राणा देउवा, काठमाडौंबाट अम्बिका बस्नेत, मकवानपुरवाट डिना उपाध्याय, तेह्रथुमबाट सीता गुरुङलगायतका कांग्रेसका महिला उम्मेदवारले पराजय भोग्नुपरेको छ। यस्तै भक्तपुरबाट नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा, पर्साबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले पनि हार बेहोर्नुपरेको छ।

यस्तै, प्रदेशसभा सदस्यमा म्याग्दीको प्रदेशसभा ‘ख’बाट एमाले उम्मेदवार बनेकी नरदेवी पुन मगर निर्वाचित हुनुभयो। संयुक्त वाम गठबन्धनकी उम्मेदवार एमालेका पुनले प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनलाई पराजित गर्नुभएको हो।

बझाङ प्रदेशसभा ‘ख’बाट माओवादी केन्द्रका उम्मेदवार देवकी मल्ल थापा विजयी हुनुभएको छ। उहाँल नेपाली कांग्रेसका उम्मेदवार नरेशबहादुर सिंहलाई पराजित गर्नुभएको थियो। मकवानपुर प्रदेशसभा क्षेत्र नं १ को (क) बाट उम्मेदवार कुमारी मोक्तान विजयी हुनुभयो। उहाँले कांग्रेसका यतिराज सापकोटालाई पराजित गर्नुभएको थियो।

यस्तै काठमाडौं–८ ख बाट एमालेकी अष्टलक्ष्मी शाक्य र काठमाडौं–१० ‘ख’बाट एमालेकै रमा आलेमगर निर्वाचित हुनुभएको छ। उदयपुर–२ (ख) प्रदेशसभामा एमालेका कला घले विजयी हुनुभएको छ।

सिन्धुपाल्चोक–२ ‘ख’बाट माओवादी केन्द्रका दावा तामाङलाई हराउँदै प्रदेशसभा सदस्यतर्फ कांग्रेसका निमा लामा निर्वाचित हुनुभयो। ललितपुर–१ को ‘क’तर्फ प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका लालकुमारी पुन, तनहुँ–२ ‘क’बाट प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार आशा कोइराला, बारा–३ ‘क’बाट नेकपा माओवादी केन्द्रका ज्वालाकुमारी साह विजयी हुनुभएको छ।

प्रदेशसभातर्फ महोत्तरी–१ को ‘क’बाट नेकपा एमालेबाट वाम गठबन्धनकी उम्मेदवार शारदादेवी थापा, बाँकेबाट नेकपा माओवादी केन्द्रकी नेतृ कृष्णा केसी, सर्लाही–१ ‘ख’बाट वाम गठबन्धनकी बेची लुङ्गेली निर्वाचित हुनुभएको छ। यस्तै बाँकेबाट आरती पौडेल, नुवाकोटबाट राधिका तामाङ प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ। काभ्रेबाट वसुन्धारा हुमागाईं, मुस्ताङबाट इन्द्रधारा विष्ट विजयी हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्