प्रदेशसभामा पनि एमाले अगाडि



काठमाडौं, (नेस)
नेकपा एमाले प्रदेशसभाको पहिलो हुनेले जित्ने अर्थात् प्रत्यक्ष प्रणालीतर्फ अगाडि रहेको पाइएको छ। आइतबार रातिसम्मको मतगणनाअनुसार एमाले २ नम्बर प्रदेशबाहेक ६ वटै प्रदेशमा अगाडि रहेको हो। निर्वाचन आयोगका अनुसार सबै प्रदेशमा गरी १ सय ६ स्थानमा जित हात पारेको छ भने ५० वटामा अग्रता कायम राखेको छ।

वाम गठबन्धनकै अर्को दल माओवादी केन्द्रले ४७ वटामा जितेको छ र २५ मा उसको अग्रता छ। नेपाली कांग्रेसले २४ मा जित र १६ मा अग्रता हासिल गरेको छ। प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल सबैभन्दा अघि छ। सो दल ले ९ वटामा जित र ९ वटैमा अग्रता लिएको छ। सो दलले प्रदेश १ र ५ मा गरी ३ स्थानमा जित र एक स्थानमा अग्रता लिएको छ। राष्ट्रिय जनता पार्टी नेपालले भने ३ स्थानमा जित र ९ स्थानमा अग्रता कायम गरेको छ। एमालेले प्रदेश २ को प्रदेशसभामा ५ स्थानमा जित र ६ स्थानमा अग्रता लिएको छ। प्रदेशसभातर्फ देशभर पहिलो हुनेले जित्ने प्रणालीतर्फ ३ सय ३० जना प्रतिनिधि चुनिने छन्।

प्रतिक्रिया दिनुहोस्