निर्वाचन परिणाम सार्वजनिक हुने क्रम जारी



काठमाडौं, (नेस)
दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक हुने क्रम जारी छ।

प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अघि देखिएको छ भने नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन निकै पछि परेको छ।

शुक्रबार राति ९ बजेसम्म सार्वजनिक नतिजाअनुसार नेकपा एमाले प्रतिनिधिसभातर्फ ५ स्थानमा विजयी भएको छ भने ४७ स्थानमा अग्रस्थानमा छ। एक ठाउँमा विजयी बनेको माओवादी केन्द्र २२ स्थानमा अग्रपङ्क्तिमा छ भने शुक्रबार अबेरसम्म प्रतिनिधिसभामा विजयी बन्न नसकेको कांग्रेस १० स्थानमा अगाडि छ। हुम्लाबाट १ जना स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्।

मुस्ताङबाट नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा सफलताको शुरुआत गरेको छ। त्यहाँबाट एमालेका प्रेमप्रसाद तुलाचन ३ हजार ५ सय ४४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निवार्चित हुनुभएको छ। सो जिल्लाको परिणाम बिहीबार राति सार्वजनिक भएको थियो। त्यहाँ तुलाचनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार २ सय ८१ मत ल्याउनुभएको छ।

त्यसै गरी हिमालपारिको अर्को जिल्ला मनाङबाट एमालेकै पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ। गुरुङ २ हजार ३ सय मतसहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत ल्याउनुभएको छ।

यो निर्वाचनसँगै वर्षौं अघिदेखिको कांग्रेसको पकड क्षेत्र तोड्न एमाले सफल भएको छ। माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ पश्चिम रुकुमबाट भारी मतका साथ विजयी हुनुभएको छ। शर्माले कांग्रेसका गोपाल जीजंग शाहलाई करिब १४ हजार मत अन्तरले पराजित गर्नुभएको छ।

यद्यपि त्यहाँको आधिकारिक निर्वाचन परिणाम राति अबेरसम्म सार्वजनिक गरिएको छैन। शर्मा यसअघि दोस्रो संविधानसभाका चुनावमा पनि रुकुमबाट प्रत्यक्ष निर्वाचित हुनुहुन्थ्यो। त्यसै गरी रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी हुनुभएको छ। यसपटकको निर्वाचनमा उहाँ पहिलो निर्वाचित महिला प्रतिनिधिसभा सदस्यसमेत बन्नुभएको छ।
(क्रमशः पृष्ठ ९ मा)
निर्वाचन…
रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गर्नुभएको छ। म्याग्दीमा एमालेका भूपेन्द्रबहादुर थापा २३ हजार ३ सय ८ मतका साथ विजयी हुनुभएको छ। उहाँले कांग्रेसका खम्बीर गर्बुजालाई २ हजार ३ सय २८ मतले पराजित गर्नुभएको हो। प्रतिनिधिसभामा बझाङबाट एमालेका भैरवबहादुर थापा ३४ हजार ६ सय १२ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गर्नुभएको थियो।

हिमाली जिल्ला हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ४७ मतअन्तरका साथ विजयी हुनुभएको छ। लामाले ८ हजार ४ सय ९१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

माओवादी केन्द्रका पूर्व पोलिटब्युरो सदस्यसमेत रहनुभएका लामा वाम गठबन्धनका बागी उम्मेदवार हुनुहुन्थ्यो। त्यसै गरी एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुगुमा एमालेका गोपालबहादुर बम बिजयी हुनुभएको छ। उहाँले १३ हजार ३४ मत ल्याउँदा कांग्रेसका हस्तबहादुर मल्ल ९ हजार ८ सय ६१ मत ल्याउनुभएको छ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा एमाले उम्मेदवार योगेश भट्टराईले १९ हजार ६० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवप्रसाद दाहालले ११ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ। मतगणना लगभग सम्पन्न भए पनि शुक्रबार साँझसम्म त्यहाँको आधिकारिक नतिजा निर्वाचन आयोगले सुनाएको थिएन। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये शुक्रबार अबेरसम्म विभिन्न ९१ जिल्लामा मतगणना भएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेशसभातर्फ पनि वामपन्थी गठबन्धले अग्रता लिइरहेको छ। शुक्रबार अबेरसम्म प्रदेशसभातर्फ ८ स्थानमा विजयी भएको एमालेले ३२ स्थानमा अग्रता लिएको छ। ३ स्थानमा विजयी भएको कांग्रेसले ७ स्थानमा अग्रता लिएको छ भने माओवादी २ स्थानमा विजयी हुँदा २६ स्थानमा अग्रपङ्तिमा रहेको छ।

प्रदेशसभाको प्रत्यक्षतर्फ विभिन्न ७३ स्थानमा शुक्रवार मतगणना भएको थियो। मनाङको प्रदेशसभा ‘ख’ का स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) प्रदेश सभामा निर्वाचित हुनुभएको छ। मनाङेले १ हजार ४ सय १० मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्