मतदान पछि शिर्ष नेताले के भने ?



प्रशान्त वली, काठमाडौँ ।
निर्वाचनमा उम्मेद्वारहरुले मतदान गर्ने कार्य जारी छ । सबै दलका नेताहरुले मतदान पश्चात देशले समृद्धिको ढोका खोल्ने प्रतिकृया दिएका छन् ।

निर्वाचन पछि काँग्रेस पनि बलियो होसः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका लागि सबै दलहरुको सहकार्य अझै आवश्यक भएको बताएका छन् । मतदानपछि पत्रकारसंग संक्षिप्त प्रतिक्रिया दिंदै प्रचण्डले वाम गठबन्धन र कांग्रेस मिलेर देश बनाउनुपर्ने बताएका हुन् । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले काँग्रेस र कम्युनिष्टलाई बलियो होस भन्ने शुभकामना समेत दिए । उनले भने,–‘नेपाली कांग्रेस नि बलियो होस, कम्युनिष्ट पनि बलियो होस, बलिया पार्टी र एकताबद्ध पार्टीले मात्रै देशको हित हुन्छ ।’

निर्वाचनले मुलुक निर्माण र समृद्ध बनाउने: पौडेल

दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान तनहुँमा सुरु भएको छ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका वडा २ दमौली स्थित सत्यवती मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदान पछि सञ्चारकर्मीसँग कुरा गर्दै तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका पौडेलले यस ऐतिहासिक निर्वाचनले मुलुक निर्माण र समृद्ध बनाउन सहज हुने बताए। निर्वाचनले लोकतन्त्रलाई संस्थापन गर्दै लोकतन्त्रको लक्ष्य साकार पार्ने उनले बताए । कुनै डरत्रास बिना मतदान केन्द्रमा पुगेर मताधिकारको प्रयोग गरी सहयोग गर्न मतदातालाई आग्रह समेत पौडेलले गरे ।

मेरो जित सुनिश्चितः सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरेका छन् । काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले अरु उम्मेदवारहरु कमजोर रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । ‘मेरो प्रतिद्वन्द्वीभन्दा म धेरै अगाडि छु । मिडियाले प्रतिस्पर्धी भनिएका उम्मेदवार रियल ग्राउण्डमा कमजोर छन्’ उनले भने, ‘पहिलो संंविधानसभामा भन्दा दोस्रोमा धेरै मत ल्याएको थिएँ । अहिले अझ धेरै मत ल्याउँछु ।’ नेता सिंहले आफूलाई भोट हाल्न भने पाएनन् । उनी काठमाडौं क्षेत्रनम्बर १ का उम्मेदवार हुन् तर, काठमाडौं क्षेत्रनम्बर ७ को पकनाजोलस्थित युवक जनता माविबाट मतदान गरेका छन् ।

चुनाव पश्चात देश अग्रगमनः झा

राजपा अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उमेदवार अनिल झाले सरस्वती माबि केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्दै अध्यक्ष मण्डलका सदस्य झाले चुनाबबाट देश अग्रगमन तर्फ लम्कीने बताए ।

निर्वाचनबाट जनता मालिकः सिटौला

नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले यो निर्वाचनबाट जनता मालिक बन्ने बताएका छन् । निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरु असफल बनेको भन्दै उनले जनता मालिक बन्न यो निर्वाचन महत्वपूर्ण रहेको बताएका हुन् । भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान स्थलबाट मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘नेपालको राजनीतिमा पहिलो पटक नेपाली जनता सार्वभौम भएर संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा भाग लिन पाएका छन् ।

तराजुमय वातावरण देखेर उत्साहित छुः मिश्र


विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र मिश्रले आफूप्रति मतदाताको सदभाव उत्साहजनक र असाधारण देखिएको बताएका छन् । ‘एकदमै खतरा मोलेर खतरनाक बाटो हिँड्न भनेरै आएका हौं । त्यो हिँड्ने कुरामा हामी दृढ छौं’ डिल्लीबजारको विजय स्मारक विद्यालयको मतदान केन्द्रमा अनलाइनखबरसँग कुरा गर्दै मिश्रले भने, ‘देशभर तराजुमय वातावरण बनेको छ । त्यसबाट हामी उत्साहित छौं ।’ काठमाडौं १ बाट उम्मेदवार बनेका मिश्रले ललितपुरबाट मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्