कमिसन नपाएपछि हत्या, गौचन हत्याका प्रमुख योजनाकार बस्न्यात पक्राउ



दीपक रिजाल, काठमाडौं
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद्कुमार गौचनको हत्याका प्रमुख योजनाकार गुण्डा नाइके समीरमान सिंह बस्न्यातलाई प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरी नेपाल ल्याएर सार्वजनिक गरेको छ।

लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहँदै आएका गुण्डा नाइके बस्न्यातको निर्देशनमा रूपन्देहीको युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या, अर्का गुण्डा नाइके दावा लामामाथि गोली प्रहार गरेर घाइते बनाउने र महासंघका अध्यक्ष गौचनको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

गुण्डा नाइके बस्न्यातको निर्देशनमा युवा संघका अध्यक्ष तिवारीको २०७३ पुस ४ गते, गुण्डा नाइके लामालाई गौरीघाट नजिकै रहेको दिव्या पार्टी प्यालेस नजिकै २०७३ चैत २९ गते गोली हानी घाइते बनाएको र महासंघका अध्यक्ष गौचनको गत असोज २३ गते नयाँ बानेश्वरमा हत्या भएको थियो।

सरकारले गौचन हत्याकाण्डको छानविन गर्न एउटा समिति गठन गरेपछि सीआईबीले भारतमा लुकेर बसेका बस्न्यातलाई पक्राउ गर्न दुई महिनाअघि नै एउटा टोली भारत पठाएको थियो। उक्त टोलीले लामो अनुसन्धानपछि बस्न्यातलाई पक्राउ गर्न सफल भएको थियो। सीआईबीले बस्न्यातलाई पक्राउ गर्न झण्डै ५ लाख भारतीय रुपियाँसमेत खर्च गरेको छ।

केही वर्षअघिबाट अपराध कर्मलाई पेसा बनाउँदै आएका बस्न्यातमाथि प्रहरीले निगरानी गर्न थालेपछि उनी नेपालभन्दा बाहिर बसेर गुण्डागर्दीलाई निरन्तरता दिँदै आएका थिए।

महासंघका अध्यक्ष गौचनको हत्या गरेपछि भारतबाटै प्रहरी र सञ्चारकर्मीलाई फोन गरेर हत्याको जिम्मेवारी लिएका थिए। गोली हानी हत्या गरिएका गौचनको स्वामित्वमा रहेको डाँफे कन्स्ट्रक्सनको शेयर बस्न्यातलाई दिने भनी गजुरमुखी कन्स्ट्रक्सनका सञ्चालक कुमार घैंटैमार्फत २ करोड ५० लाख लगानी गरेको अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिनुभयो।

लामो समयदेखि ठेक्कापट्टा गर्दै आउनुभएका गौचनले गुण्डागर्दीमा संलग्न रहँदै आएका व्यक्तिलाई प्रयोग गरी ठेक्का हत्याउने र उनीहरूलाई विभिन्न बहानामा कम्पनीको शेयर दिने भन्दै रकम दिने गरेको रहस्य पनि प्रहरीले पत्ता लगाएको छ। प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे) को लगानीमा सञ्चालित गजुरमुखी कन्स्ट्रक्सनमार्फत २ करोड ५० लाख डाँफे कन्स्ट्रक्सनमा लगानी गरेको भए पनि उक्त रकममध्ये १ करोड अभियुक्त बस्न्यातको भएको डीआईजी कार्कीले जानकारी दिनुभयो।

प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि अभियुक्त बस्नेतले गौचनलाई २ करोड ५० लाख रकम पूरै फिर्ता गर्न दबाब दिएपछि विवाद उत्कर्षमा पुगेको थियो। गौचनले रकम फिर्ता गर्न आनाकानी गरेपछि बस्न्यातले गौचनको हत्या गर्ने योजना बनाएर सार्पसुटर लोप्साङ लामालाई प्रयोग गरी हत्या गरेका थिए।

बस्न्यातले वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी राजमार्गको ठेक्का गौचनले पारेको र उक्त ठेक्काको रकम १२ अर्बको २ प्रतिशत कमिसन मागेका थिए। केही ठेकेदारलाई सेटिङ गरेर ठेक्का पारेका गौचनले २ प्रतिशत कमिसन दिन आनाकानी गर्नु पनि हत्याको मुख्य कारण रहेको प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पछिल्लो समय बस्न्यातको प्रिय पात्र बनेका लामाले दुर्गा तिवारी, दावा लामा र शरद् गौचनमाथि गोली प्रहार गरेको पनि प्रहरीले जानकारी दिएको छ। गत वर्ष रूपन्देहीमा भएको तिवारी हत्याकाण्डको जिम्मेवारी मनोज पुनले लिएको भए पनि त्यसको मुख्य योजनाकार भने बस्न्यात नै रहेको डीआईजी कार्कीले जानकारी दिनुभयो। दावा लामालाई गोली हान्ने योजना बस्न्यातले बनाएको र लोप्साङ लामाले अमरबहादुर रानामगरलाई प्रयोग गरी हत्याको प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

बस्न्यातसहितको मनोज पुनको टोलीले गौचनको हत्या गरेपछि बस्न्यात र पुनको समूहमा विवाद उत्पन्न भएका कारण पुनले बस्न्यातलाई छाडेर आफ्नो नयाँ समूह बनाएका थिए भने बस्न्यातलाई प्रहरीले खोजी गरेपछि बस्न्यात समूहको नेतृत्व लोप्साङ लामाले गरेको पनि प्रहरीले बताएको छ। गौचनको हत्यापछि भागेर भारतको बैंग्लोर पुगेका बस्न्यात र पुनको बीचमा झगडासमेत परेको थियो। बस्न्यातले पुनलाई तीन झापड हानेर आफ्नो सेल्टरबाट लखेटेपछि बस्न्यात र पुनबीच अर्को युद्ध शुरू भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रहरीले गौचन हत्याकाण्डमा संलग्न रहेका मुख्य योजनाकार बस्न्यात, वसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङ्तान, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरेको छ। त्यस्तै उक्त हत्या काण्डमा संलग्न रहेका मनोज पुन, लोप्साङ लामा, गंगाप्रकाश लिङ्देन, श्याम गोम्बे गुरुड, अमरबहादुर पुन, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन्।

सरकारले गौचन हत्याकाण्डको छानविन गर्न एउटा समिति गठन गरेपछि सीआईबीले भारतमा लुकेर बसेका बस्न्यातलाई पक्राउ गर्न दुई महिनाअघि नै एउटा टोली भारत पठाएको थियो। उक्त टोलीले लामो अनुसन्धानपछि बस्न्यातलाई पक्राउ गर्न सफल भएको थियो। सीआईबीले बस्न्यातलाई पक्राउ गर्न झण्डै ५ लाख भारतीय रुपियाँसमेत खर्च गरेको छ।

प्रतिक्रिया दिनुहोस्