फितलो भयो सुरक्षा, सरकार भन्छ– कडा छ



ईश्वरराज ढकाल, काठमाडौं

सरकारले मुलुकको सुरक्षा व्यवस्था कडा भएको दाबी गरे तापनि उपत्यकालगायतका स्थानमा सुरक्षा फितलो बन्दै गएको छ। विप्लवलगायतका समूहले राजधानीसहित देशभर बम विस्फोट गराउन थालेपछि सुरक्षा व्यवस्था कमजोर बन्दै गएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको घर नजिकै देउवा चोकमा शुक्रबार बम विस्फोट भएपछि सरकारले सुरक्षा व्यवस्था कमजोर हुँदै गएको आँकलन गरेको छ। राजधानीलगायतका स्थानमा सुरक्षा व्यवस्था कमजोर हुँदै गएपछि हिजो शनिबार निर्वाचन केन्द्रीय कमान्ड पोस्टको बैठक बसेको थियो।
बैठकले राजधानीलगायत देशभरको सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। गृह प्रवक्ता नारायण शर्मा दुवाडीले सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको दाबी गर्दै भन्नुभयो– ‘चेकजाँच बढाएका छौं, ठाउँ–ठाउँमा गस्ती बढाएका छौं।’ उहाँले हालसम्म बम राख्नेमाथि कारबाही गरेको जनाए तापनि कसले बम प्रहार गरेको हो भन्ने विषयमा कुनै जानकारी दिनुभएन।

अधिकांश स्थानमा विप्लव माओवादीले बम विस्फोट गराइरहँदा गृह मन्त्रालयले भने अहिलेसम्म पहिचान गर्न नसकेको जनाएको छ। ‘अहिले यति नै भनौं बम विस्फोट गर्ने पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्नेछौं’, निर्वाचन सुरक्षा योजनाअनुसार नै सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराउँदै प्रवक्ता दुवाडीले भन्नुभयो– ‘सुरक्षा व्यवस्था मजबुत बनाएका छौं, ढुक्क भएर निर्वाचन प्रचार गर्न सबैलाई आग्रह गर्दछौं।’ बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसै गरी बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि उपस्थित थिए। शुक्रबार राजधानीको विभिन्न स्थानमा बम विस्फोटका घटना बढेपछि सुरक्षा निकायले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ। नाका–नाकामा सुरक्षा जाँच गरेको छ। सरकारले सिंहदरबार परिसरको सुरक्षा व्यवस्थामासमेत कडाइ गरेको छ।

प्रवक्ता दुवाडीले निर्वाचन प्रचार मतदाता र कार्यकर्ताको समेत सुरक्षा मिलाइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘निर्वाचनविरोधी गतिविधि गर्नेमाथि सशक्त ढंगले कारबाही गर्नेछौं, तपाईंहरूले पनि सहयोग गर्नुपर्यो।’ सरकारले निर्वाचन सुरक्षाका लागि व्यापकरूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाएको दाबी गरे तापनि प्रभावकारी सुरक्षा व्यवस्था हुनसकेको छैन। सुरक्षा गतिविधि बढाएर राजमार्ग तथा राजधानीका विभिन्न स्थानमा चेक प्वाइन्ट खडा गरी सुरक्षा जाँच बढाएको सरकारले दाबी गरेको छ।

प्रहरीले हालसम्म बम विस्फोट गराउने घटनामा संलग्न ५ सय ६९ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरी प्रवक्ता मनोज नेउपानेले पक्राउ परेकामध्ये अधिकांश विप्लव माओवादीका कार्यकर्ता भएको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म २ सय ७० जनालाई हातहतियार, विस्फोटक पदार्थ, पेस्तोललगायतका सामग्रीसहित पक्राउ गरिएको छ। पहिलो चरणको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भए पनि दोस्रो चरण निर्वाचनको संघारमा बम विस्फोटका घटनामा वृद्धि भएको छ। सरकारले भने यस्ता घटनालाई सामान्य भएको दाबी गर्दै सबै सुरक्षा व्यवस्था कडा भएको जनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्