रेग्मीलाई मानार्थ विद्यावारिधि



नेपाल समाचारपत्र
काठमाडौं
मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेसनल अमेरिकन विश्वविद्यालयले व्यवस्थापन प्रशासन विषयको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

सामाजिक क्षेत्रको सुधार र व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरी नेपाली समाजलाई योगदान गरेको उल्लेख गर्दै अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस शहरमा २६ नोभेम्बरमा विश्वविद्यालयले आयोजना गरेको विशेष समारोहमा रेग्मीलाई उक्त उपाधि प्रदान गरिएको हो।

विश्वमा मानवता, नैतिकता र सदाचारको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यका साथ शैक्षिक सेवा प्रवाह गर्दै आएको इन्टरनेसनल अमेरिकन विश्वविद्यालको व्यवस्थापन संकायको सिफारिसमा मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले नेपाली समाजमा गरेको विशिष्ट योगदान र सेवाको कदर गर्दै उक्त उपाधि प्रदान गरेको उक्त विश्वविद्यालयले जनाएको छ।

मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गर्न मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी एक साताअघि नै अमेरिका प्रस्थान गर्नुभएको थियो। उपाधि वितरण समारोहमा सम्बोधन गर्दै रेग्मीले आफूलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएकोमा प्रसन्नता व्यक्त गर्नुका साथै मानवताको प्रवद्र्धनमा इन्टरनेसनल अमेरिकन विश्वविद्यालयले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो।

साथै उहाँले विश्वमा नैतिकता, सदाचार र मानवतावादको दर्शनको महँव सधैं रहने र असल शिक्षाबाट नै समाजको रूपान्तरण गर्न विश्वका विकसित देशहरू सफल भएकाले शिक्षामा लगानी गर्न विशेष जोड दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

सम्बोधनकै क्रममा पूर्वअध्यक्ष रेग्मीले समाजबाट आफूले के प्राप्त गर्न सकिन्छ भन्ने भन्दा पनि आफूले समाजलाई के योगदान गर्न सकिन्छ भन्ने मान्यताबाट अग्रसर हुन सकेमा नै आफ्नो र समाजको पनि भलो हुन्छ भन्दै विश्वमा मानवीय सेवाको विस्तारको कार्यलाई विशेषरूपमा प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिनुभयो। साथै उहाँले नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचन गराउन गठित सरकारको नेतृत्व गर्दाको चुनौतीपूर्ण घडीमा आफूले गरेका कार्यको अनुभवसमेत सम्बोधनका क्रममा सुनाउनुभएको थियो।

मानार्थ विद्यावारिधि वितरण समारोह तथा अन्य कार्यक्रममा सहभागी भई मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी हिजो बिहीबार स्वदेश फर्कनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्