निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग निरीह बन्यो



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय पर्यवेक्षण संस्थाहरूले आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोगको भूमिका निकै कमजोर रहेको निस्कर्ष निकालेका छन्।

पहिलो चरणको निर्वाचन पर्यवेक्षण र हालसम्मको निर्वाचन अवस्थाबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा आम निर्वाचन पर्यवेक्षण समिति जियोक, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक र सकल्पले सरुवा बढुवा, दीर्घकालीन आयोजनाको निर्णय गर्ने काम गर्दा पनि निर्वाचन आयोगले रोक्न नसकेको बताएको छ।

पर्यवेक्षण गर्ने ती सस्थाले पहिलो चरणको निर्वाचनमा ज्येष्ठ नागरिक, अपांग, क्रियापुत्री, बिरामी र महिलाको व्यापक सहभागीताले मतदातामा नागरिक अधिकारप्रतिको चासो र सजगता बढेको पाइएको निस्कर्ष पनि निकालेका छन्।

निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताबीच विवाद र झडपका घटना न्यून हुनुले राजनीतिक दलबीचमा हार्दिकता र सहनशीलको नमुना प्रदर्शन भएको उल्लेख गर्दै ती संस्थाले पछिल्लो समय देखिएका विस्फोटनका घटनाले आगामी निर्वाचनमा भने सुरक्षा नै प्रश्नको रूपमा देखिने संकेत गरेको जनाएका छन् ।

नियोगका प्रमुख सूर्यप्रसाद श्रेष्ठले भन्नुभयो– ‘निर्वाचन शिक्षा, मतदाता परिचयपत्र वितरण, उम्मेदवारी दर्ता, कानुन निर्माण, मौन अवधिको पालना, मतगणनाजस्ता विषयलाई सरकार, राजनीतिक दल र संसदले मयानुकूल तुल्याउँदै लैजानुपर्छ।’

जियोकका अध्यक्ष हिमालय शमशेर राणाले भौगोलिक विकटता, प्रतिकूल मौसम र भयको वातावरणमा पनि मतदाताको सहभागीताले निर्वाचनलाई ऐतिहासिकरूपमा सफल तुल्याएको बताउनुभएको छ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन शान्तिपूर्ण र निर्धक्करूपमा भएको छ भनेर वैधता प्रदान गर्न पर्यवेक्षण गरिने भएको हुँदा पर्यवेक्षकले पनि तटस्थ भएर स्वतन्त्र आँखाले हेर्नुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो– ‘उम्मेदवार र सुरक्षाकर्मीलाई लक्षित गरेर हिंसाका शृंखलाको वातावरण हुनु हाम्रा लागि चिन्ताको विषय हो, निर्वाचनको विश्वासनीयताप्रति प्रश्न आउने ढंगबाट झडपका घटना भने भएका छैनन्।’

हिंसाबाट लोकतन्त्र नआएको तथा हिंसाकै कारण लोकतन्त्र नगुम्ने हुँदा त्यस्ता क्रियाकलाप बन्द गर्न आग्रह गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको लोकतन्त्र अब क्रमशः परिपक्कतार्फ उन्मुख हँुदै गएको उल्लेख गर्नुभएको छ। जियोकका महासचिव कृष्णमान प्रधानले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ।

नियोकका महासचिव डा. गोपाल सिवाकोटीले मतदाता शिक्षालाई सूचनाको रूपमा मात्र नभई साच्चिकै परिणाममुखी तुल्याउन आवश्यक परिमार्जनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ। मतदाता परिचयपत्र वितरण, मतदाताको गोपनीयता, मतदाता शिक्षाका सुधारको खाँचो औल्याउँदै उहाँले मतपेटिकाको सुरक्षाका विषयमा आउन सक्ने प्रश्नका बारेमा सजग र सचेत रहन आयोग र सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्