कोपुन्डोलमा विस्फोट



काठमाडौं, (नेस)
ललितपुरस्थित कोपुन्डोलको यूएन पार्कनजिकै शुक्रबार बेलुकी बम विस्फोट भएको छ। अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ।

चुनावको विपक्षमा गतिविधि गरिरहेको समूहले आतंक फैलाउन विस्फोट गराएको प्रहरीले अनुमान गरेको छ। यद्यपि विस्फोटबाट कुनै मानवीय क्षति नभएको ललितपुर प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। कोपुन्डोलमा विस्फोट भएको भनिए पनि के विस्फोट भएको भन्ने नखुलेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो। विस्फोट फोहोरको थुप्रोमा गराइएकाले अवशेषसमेत भेटिन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा अनुसन्धान जारी राखेको छ। केही दिनअघि वाम गठबन्धनले लगनखेलमा आयोजना गरेको चुनावसभानजिक बम विस्फोट गराइएको थियो। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा विस्फोट गराउँदा लगनखेलमा रहेको विद्यालयको झ्यालका सिसा फुटेको थियो। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने आफूहरूले कहीं कतै बम नराखेको बताएको छ। जनताले चुनाव खारेज अभियान चलाएकाले विरोध गरेको हुन सक्ने विप्लवका एक नेताले नाम नभन्ने सर्तमा बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्