निर्वाचन आचारसंहिता उल्लंघनका बारेमा छलफल



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल पत्रकार महासंघले निर्वाचन र सामाजिक सञ्जाल विषयक छलफल कार्यक्रम आयोजना गर्र्याे। कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनको वातावरण तयार गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। निर्वाचनबारे जानकारी दिन सामाजिक सञ्जालको प्रयोग भइरहेको भन्दै उहाँले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रसका नेता तथा पूर्वसंसद रामहरि खतिवडाले आग्रह र पूर्वाग्रह नराखी सामाजिक सञ्जालको प्रयोग गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले समाजमा वर्षेनी १० प्रतिशतले सामाजिक सञ्जाल प्रयोगका क्रममा अपराध बढिरहेको जानकारी दिँदै घटनामा कमी ल्याउन जनचेतना जगाउन र प्रविधिको सही सदुपयोग गर्न आग्रह गर्नुभयो। महासंघका सल्लाहकार तीर्थ कोइलालाले पत्रकारहरू निस्क्रिय रहेकाले सामाजिक सञ्जालको लोकप्रियता बढिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल समाचारको स्रोतसमेत बन्ने गरेको बताउनुभयो। उहाँले समाजिक सञ्जालको सही सदुपयोग गर्न पत्रकारलाई आग्रह गर्नुभयो।

महासंघका महासचिव रमेश विष्टले सामाजिक सञ्जाल प्रयोगका राम्रो–नराम्रो दुवै पक्ष छ भन्दै सामाजिक सञ्जालले नागरिकको व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्न सहज भएको धारणा व्यक्त गर्नुभयो । उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारसहित सबैले विवेक प्रयोग गर्नुपर्ने बताउनुभयो।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ दक्षिण एसियाका संयोजक उज्ज्वल आचार्यले निर्वाचनका क्रममा चुनावी प्रचारप्रसार, आफ्नो पक्षमा जनमत सिर्जना गर्न, दलको प्रचार गर्न, उम्मेदवारप्रतिको भ्रामक सूचनाको खण्डन गर्न, दलप्रतिको मोह वृद्धि गर्न र नागरिकप्रति जवाफदेही देखाउन सामाजिक सञ्जालको प्रयोग गरिएको बताउनुभयो।

कार्यक्रममा दी रिपब्लिक डेलीका सम्पादक सुवास घिमिरेले पत्रकारले समाजिक सञ्जाल कसरी प्रयोग गर्ने भनेर आचारसंहिता बनाउन आवश्यक रहेको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्