चुनावको मुखमा रोजगारीका लागि भारत जाने बढ्दै



विमल विष्ट, डोटी । यहि मंसिर २१ गते डोटीमा हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जादा रोजगारीका लागि भारत पस्नेहरुको लर्को लाग्न थालेको छ । डोटीका गाउँघरमा चुनावी माहोल तातेको भएपनि यहाँका अधिकांस युवा तथा स्थानियहरु भारतमा काम खोज्नका लागि जिल्ला छोड्न थालेकाछन् । नेता तथा कार्यकर्ता मतदाता रिझाउन स्थानियका घर आगनमा दिनदिनै धाइरहेका भएपनि युवा तथा स्थानियहरुलाई भारत जानबाट रोक्न सकेका छैनन् । गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ धामधम पसिरहेका छन् ।
यसै सिलसिलामा सायल गाउँपालिका– २ का डबल बोगटी बिहिबार भारत जाँदै गर्दा दीपायल पिपल्ला बजारमा भेटिनुभयो । निर्वाचनबारे जानकारी भएका उहाँ मतदान गर्ने इच्छै नभएर भारत जान लागेको बताउनुहुन्छ । विगत २२ वर्षदेखि भारतको विभिन्न ठाउँमा काम गर्दै आउनुभएका काले बोगटी अहिले भारतको पञ्जाबमा रहेको एउटा मन्दिरको सामग्री सरसफाइ गर्ने काम गर्नुहुन्छ । ३५वर्षीय बोगटीले आफ्नो जीवनकालमा एकपटक मात्रै मतदान गरेको बताउदै उहाँले भन्नु भयो ‘भोट केका लागि दिने,केही नगर्ने नेतालाई भोट किन दिने बरु भारत गएर दुई चारदिन बढी काम गरे दुईचार पैसा बढी आम्दानी हुन्छ, भोट हाल्नु भन्दा भारत जानु नै बेस छ ।’
उहाँसँगै भारत जान लाग्नु भएका सोही ठाउँका चार अरु युवामध्ये कमल बोगटी पनि १६ वर्षको उमेरदेखि नै भारतको लुधियानाको एउटा कपडा कम्पनीमा काम गर्दै आउनुभएको छ । उहाँ आफू अनपढ भएका कारण नेपालमा रोजगार नपाउने भएपछि भारतमै निर्भर हुनुपरेको बताउदै भन्नु हुन्छ ‘नेपालमा नोकरी नपाउने भएपछि यो चुनावमा भोट हालेर पनि केही नहुने भएकाले गर्दै आएको नोकरी बचाउन समयमै जान लागेको हँु, जागीरी बचाउन भएपनि भोट हाल्न छोडियो ।’ सुदूरपश्चिमका पहाडी जिल्लाका धेरैजसो व्यक्ति कामको खोजीमा भारत जाने गर्दछन् । कृषि पेशामा आबद्ध यहाँका जनता हिउँदमा खेती किसानीको काम नहुने भएकाले पनि यो बेला भारत जाने गरेका हुन् । प्रायःजसो घरैपिच्छे यहाँका युवा भारतको रोजगारीमा निर्भर छन् । ती युवा मौसम अनुसार नेपाल भित्रिन्छन् र भारत पस्छन् । दशै तिहार मनाउन घर आएका युवा यतिबेला हिउँदे खेती लगाएर रोजगारीका लागि धमाधम भारत जानथालेका छन् । केही युवा अहिले पनि निर्वाचनमा मतदान गरेर जाने तयारीमा रहे पनि अधिकांश युवा भने धमाधम भारत पस्न थालेका छन् । अहिले भारत जाने युवाको समुह दिनहुँ आउनेक्रम बढिरहेको शैलेश्वरी यातायात व्यवसायी संघका कर्मचारी बमबहादुर बोहराले बताउनु भयो । उहाँका अनुसार अहिले दैनिक २५/३० जनाभन्दा बढी डोटेलीहरु कामका लागि भारत जान थालेकाछन् ।

प्रतिक्रिया दिनुहोस्