अधिनायकवाद ल्याउने कम्युनिष्टको सपना पूरा नहुने



हेटौंडा,(नेस) । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अधिनायकवादी सत्ता ल्याउने कम्युनिष्टहरुको सपना पूरा नहुने दाबी गर्नुभएको छ ।
उत्तरी मकवानपुरको थाहानगरमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनाबीसभामा प्रधानमन्त्री देउवाले बाम गठबन्धनका नाममा कम्युनिष्टहरुले अधिनायकवादी एकतन्त्रीय शासन लागु गर्न खोजेको भन्दै उनीहरुको सपना जनताले पूरा हुन नदिने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसले २००७ सालदेखि हरेक खालका तानाशाही प्रवृत्तिविरुद्ध नेतृत्व गरेको भन्दै हाल बाम गठबन्धनले ल्याउन खोजेको अधिनायकवादी व्यवस्थालाई जनताको साथबाट परास्त गर्ने दाबी गर्नुभयो । उहाँले अहिलेको संविधान समावेशी भएको भन्दै बाम गठबन्धनले जिते संविधान उल्टाउने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री देउवाले बाम गठबन्धनले गर्दा लोकतन्त्र खतरामा परेको पनि बताउनुभयो । विहीबार थाहानगर–३ स्थित घट्टेचौरमा भएको सभामा प्रधानमन्त्री देउवाले धेरै संघर्ष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाउनुभयो । ‘राणाशासनको अन्त्य कांग्रेसले गरेको हो,’ प्रधानमन्त्री देउवाले भन्नुभयो–निरकुंशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको छ ।
प्रधानमन्त्री देउवाले पछिल्लो पटक बाम गठबन्धनलाई निशाना बनाउँदै आउनुभएको छ । उहाँले पछिल्ला दिनमा आयोजित चुनाबीसभामा कम्युनिष्टले जिते नागरिकको बोल्ने अधिकारसमेत गुम्ने भन्दै लोकतान्त्रिक गठबन्धनले मात्र जनताको हित चाहेको बताउँदै आउनुभएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभामा लोकतान्त्रिक गठबन्धन विजयको लहर छाउने भन्दै उहाँले अहिलेको चुनाब एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनाब भएकाले विचार पु¥याएर मतदान गर्न आग्रह गर्नुभयो । ‘कम्युनिष्टको अधिनायकवाद शासन र कांग्रेसको लोकतान्त्रिक शासनपद्धतिको मोडमा उभिएका छौं,’ प्रधानमन्त्री देउवाले भन्नुभयो–कम्युनिष्ट शासनले लोकतन्त्रको अन्त्य गर्छ ।
प्रधानमन्त्री देउवाले कम्युनिष्टहरु संविधान खारेज गर्ने षडयन्त्रमा जुटिरहेको आरोप लगाउनुभयो । ‘अधिनायकवादले आर्थिक समृद्धिको परिकल्पना गर्न सकिँदैन,’ उहाँले भन्नुभयो–एकतन्त्रीय शासनले आर्थिक समृद्धि हँुदैन । उहाँले आर्थिक समृद्धिका लागि पुँजी बृद्धि गर्नुपर्ने भन्दै विदेशी लगानी ल्याउनुपर्नेमा जोड दिनुभयो ।
‘कांग्रेसले थालेको आर्थिक क्रान्ति, उदारीकरण र रोजगारी सृजना एजेण्डालाई मूर्तरुप दिन जरुरी छ,’ उहाँले भन्नुभयो–अर्थतन्त्र सवलीकरण गर्न आर्थिक एजेण्डा चाहिन्छ । त्यसका लागि नेपाली कांग्रेसले जित्नुपर्छ । उहाँले विश्वमै नभएको साम्यवाद ल्याउने षडयन्त्र कम्युनिष्टले गरेको भन्दै साम्यवाद विश्वबाटै फालिएकोले नेपाल साम्यवाद थुपार्ने कन्टेनर नभएको दाबी गर्नुभयो ।
नेपाली कांग्रेसले शुरु गरेको आर्थिक क्रान्तिको एजेण्डालाई अबको निर्वाचनको मत परिणामले सार्थकता दिने भन्दै प्रधानमन्त्री देउवाले मकवानपुरलाई कृषि र पर्यटनको क्षेत्रका रुपमा विकास गरिने र लोकतान्त्रिक गठबन्धनले जिते सुरुङमार्ग सरकारले नै बनाउने दाबीसमेत गर्नुभयो ।
‘जनताले ठुल्ठूला परिवर्तनमा सहभागी कांग्रेसलाई मतदान गरी बामपन्थीको अधिनायकवादी सत्ता सोचलाई परास्त गर्ने विश्वासमा छु,’ उहाँले कांग्रेसले प्रजातन्त्रमा कसैसँग सम्झौता नगर्ने उल्लेख गर्दै यी सबै विषयमा जनता नै विज्ञ रहेकाले पनि कांग्रेसले आगामी चुनाबी परिणाममा बहुमतसिद्ध गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष कमल थापाले अहिलेको अधिनायकवादविरुद्ध लोकतान्त्रिक गठबन्धन बनेको भन्दै देश विकासका लागि यस गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक गठबन्धनले आगामी ५ वर्षभित्र नेपालको गरिबी, शोषण र विभेद अन्त्यका लागि काम गर्ने दाबी गर्नुभयो ।
मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनलाई कसैले हराउन नसक्ने दाबी पनि गर्नुभयो । ‘मकवानपुर अब लोकतान्त्रिक शक्तिको किल्ला हुन कसैले रोक्न सक्दैन,’ उहाँले भन्नुभयो– कम्युनिष्टको सर्वसत्तावादी अधिनायकवादी सत्ता स्थापना गर्ने सपनालाई तोड्न आमनेपाली एक भइसकेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नेता तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँडले कम्युनिष्टका चार पटक प्रधानमन्त्री हँुदा पनि मुलुकले संविधान प्राप्त गर्न नसकेको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस मकवानपुरका निर्वतमान सभापति तथा २ नम्बर निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ की उम्मेदवार महालक्ष्मी डीना उपाध्याय, नेपाली कांग्रेस मकवानपुर सभापति तथा प्रदेशसभा उम्मेदवार इन्द्र बानियाँ र प्रदेश उम्मेदवार यतिराज सापकोटा, उद्योगपति विनोद चौधरी, समानुपातिक उम्मेदवार पवित्रा बिक, थाहानगर उपमेयर खड्ग गोपाली, पार्टी जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली, राप्रपा जिल्ला सदस्य रामबहादुर घले, राप्रपा थाहानगर अध्यक्ष हरेराम कार्की, तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक, नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य भीमसेन महतलगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस्