मुटुरोगीभन्दा युवामा त्रास बढ्दो



भगवती तिमल्सिना, काठमाडौं
नेपालीहरू रोगप्रति कत्तिको सचेत छन् भन्ने कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अकस्मात् हृदयाघातबाट उपचार गराउनै नपाई मृत्यु भएपछि देखिन थालेको छ। अहिले अस्पतालको मुटुरोग विभागमा जचाउन आउनेको शभीड लाग्न थालेको छ।

यति बेला शहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू बढी मात्रामा यो घटनाबाट अत्तालिएर फोन गर्ने, डाक्टरको पालो सोध्ने, रोगको लक्ष्यण के के हुन्छ, प्राथमिक उपचार हुन्छ कि हुन्न भनेर जिज्ञाशा राख्ने र अस्पतालमै आएर परीक्षण गराउनेको संख्यामा दोब्बर नै वृद्धि भएको सरकारी तथा निजी क्षेत्रका ठूला अस्पतालहरूले जनाएका छन्।

पहिला पहिला ४० वर्ष कटेपछि मुटुको जाँच गराउन सल्लाह दिइँदै आएकामा यति बेला ३५ वर्षदेखिका युवाहरू आत्तिएर अस्पताल आउने र मुटुमा घोचेजस्तो, चस्केजस्तो भएको छ भन्दै चिकित्सकसँग सल्लाह लिनेको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ। यसरी आउनेमा रोग लागेर आउनेभन्दा सामान्य व्यक्ति धेरै छन्। तर समस्या हुनुभन्दा पहिला नै सचेत हुनु राम्रो कुरा हो र समान्यतया वर्षमा एकपटक उच्च रक्तचाप, सुगर, मुटु, पेटको परीक्षण गराउनु स्वास्थ्यका लागि राम्रो हुन्छ।

मुटुको समस्या छ⁄छैन परीक्षणका लागि होलबडी परीक्षण जरुरी नभएको काठमाडौं विश्वविद्यालय (केयू) शिक्षण अस्पताल धुलिखेलका मुटुरोग विशेषज्ञ तथा केयू मेडिकल साइन्सेस विभागका डीन प्राडा राजेन्द्र कोजू बताउनुहुन्छ।

केयूकै एसोसियट प्रोफेसर तथा धुलिखेल अस्पतालका कन्सल्टइन्ट कार्डियोलोजिस्ट डा. सञ्जय हुमागाईं भन्नुहुन्छ– ‘परीक्षणका लागि आउनेको संख्या बढे पनि जेन्युएन कम छ। हर्ट अट्याक अकस्मात् हुने कुरा हो। यस्तो अवस्थामा समय थोरै हुने हुनाले उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या परिवारमा कसैलाई भएको छ भने थप सचेत हुनुपर्छ।’
रोगबाट जोगिन खानपान, चिल्लो पदार्थमा कमी र व्यायाममा ध्यान दिनुपर्छ। समस्या देखिएकाले पनि यस्ता कुरामा ध्यान दिने र चिकित्सकको सल्लाहअनुसार समय समयमा परीक्षण गराउनुपर्छ। नेपालीहरू पछिल्लो समय आफ्नो र परिवारको स्वास्थ्यप्रति निकै सचेत भएका छन् भन्ने कुराको आकलन नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ को रिपोर्टमा पनि उल्लेख गरिएको छ।

यता नर्भिक इन्टरनेसनल अस्पताल मुटुरोग विभागका प्रमुख तथा कार्डियोलोजिस्ट डा. यादव भट्ट भन्नुहुन्छ– ‘मुटुरोग बढेको हैन, मानिस धेरै डराएर आफूलाई पनि मुटुरोग लागेको छ कि भनेर आउनेको संख्या ह्वात्तै बढेको हो। परीक्षणका लागि अस्पताल आउने सबै मुटुरोगी होइनन्।’ मुटुरोगको संकेतका रूपमा छाती असह्य तरिकाले दुख्ने सास फेर्नै गाह्रो हुने हुन्छ। यस्तो अवस्थामा जतिसक्दो चाँडो नजिकैको अस्पतालमा पुगेर परीक्षण गराउनुपर्छ।

मुटुरोगबाट बच्नका लागि मद्यपान र सुर्तीसेवनको लत बसेका मानिसले पहिला लत छोडेर मात्र स्वास्थ्य परीक्षण गराउन, आफूलाई सुधार गर्न, खानपानमा ध्यान दिन डा. भट्टले आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो– ‘हर्टयाट्याकको सबैलाई संकेत देखिन्छ भन्न सकिन्न तर पनि देब्रे भागको छाती बेस्सरी दुख्दै हात हुँदै दाँत र टाउकोसम्म पुग्छ। यस्तो अवस्थामा तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार गर्नु नै उत्तम हुन्छ।’

मुटुरोगको आशंकामा निजी अस्पतालमा जसरी होलबढी चेकअप गराउनेको घुइँचो बढेको छ सरकारी अस्पतालमा खासै त्यस्तो नभएको र नियमित आउने बिरामीको चाप नै बढी रहेको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत बताउनुहुन्छ।

यता त्रिवि शिक्षण अस्पताल तथा मनमोहन भास्कुलर कार्डियोलोजी तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाका अनुसार जाडो महिनामा दम, खोकीजस्ता समस्या बढ्न जाँदा उच्च रक्तचाप, मुटुको समस्या पनि बढ्ने गर्दछ। यति बेलाको समय यस्ता समस्याका कारण बढी चाप हुँदा मुटुरोगीलाई थप असर गर्ने हुनाले बिरामी बढेको देखिएको हो। कतिपय निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूले भने मानिसहरूमा त्रास देखाएर होलबडी परीक्षणको प्याकेज नै बनाएर मुटुको परीक्षण गराउन सर्वसाधारणलाई समेत त्रास फैलाइरहेको मुटुरोग विशेषज्ञको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्