छुट्टाछुट्टै दुर्घटनामा ११ को मृत्यु २८ घाइते



चितवन, (नेस)
इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु२ख २९१ नम्बर यात्रुबाहक बस बुधबार ओभरटेक गर्ने क्रममा ना६ख४९७२ नम्बरको ट्रकसँग ठोक्किन गई त्रिशूली नदीमा खसेर दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीका नुदराज अधिकारी, दैलेखका अमरबहादुर शाही, नवलपरासी बर्दघाट नगरपालिका–१ का कृष्ण ढकाल रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो। उपचारका लागि काठमाडौंको बी एन्ड बी अस्पताल पुर्याइएकी सन्धिखर्क नगरपालिका–४ अर्घाखाँचीकी लक्ष्मी पौडेलको उपचारका क्रममा मृत्यु भएको छ भने ४ जनाको सनाखत हुन सकेको छैन।

बस चालक कपिलवस्तु भृकुटी नगरपालिका–९ बस्ने थमबहादुर क्षेत्रीलगायत ९ जना पुरानो मेडिकल कलेज भरतपुरमा, ५ जना नर्भिक अस्पताल काठमाडौं र ९ जनालाई उपचारका लागि काठमाडौंतर्फ लगिएको छ।

त्यसैगरी मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नम्बरको बलेरो जिप कालिकोटको जिल्ला अस्पताल मोडमा बुधबार बिहान दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ। मृत्यु हुनेमा मुगु भिइ–७ का जयरूप बुमी, श्रीनगर–३ का नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामीका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ। जिपमा सुत्केरी महिलासहित नौ जना यात्रु रहेको बताइएको छ। घाइते हुनेमा मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम कार्की, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगन्जका चालक यन्द्रप्रसाद थारू रहेको बताइएको छ। घाइतेको उपचार जिल्ला अस्पताल कालिकोटमा हुन नसकी हेलिकोप्टरमा नेपालगन्ज लगिएको छ।

प्रतिक्रिया दिनुहोस्