अवैध ‘खात’ कारोबार गर्ने विदेशी पक्राउ



काठमाडौं, (नेस)
लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लामो समयदेखि अवैध मनोद्विपक लागूपदार्थ ओसारपसारमा संलग्न ३ विदेशीसहित ७ जना पक्राउ गरेको छ।

विगत केही समयदेखि ग्रिन टी भनी अफ्रिकन मुलुक इथियोपियाबाट नेपालको बाटो भएर युरोपेली मुलुकमा अवैधरूपमा पठाउन लागेको वनस्पति खातको सुकेको पात ८ केजीसहित सोमालियाली नागरिकहरू इब्राहिम अलि हाजी, जाम अब्डिफाथी र अब्डिफाहाड युशुफ पक्राउ परेका छन्। उनीहरूलाई ८ केजी खात र १८५९ एम्पुससहित पक्राउ गरेको हो।

प्रहरीले पहिलो पटक नेपालमा यति धेरै संख्यामा विदेशी कारोबारी पक्राउ गरिएको दाबी गरेको छ।

प्रहरी स्रोतका अनुसार ठमेलस्थित एक कार्गोबाट युरोप पठाउन तयारी अवस्थामा गोप्य सूचनाका आधारमा उक्त परिमाणमा लागूऔषध खात पक्राउ गरिएको हो।

पक्राउ परेका कारोबारीले अफ्रिकी मुलुकबाट नेपाल हुँदै युरोपेली तथा अमेरिकी देशहरूमा अवैधरूपमा खात पैठारी गर्ने गरेको जानकारी विगतदेखि आइरहेको र यस विषयमा निगरानी राखी अनुसन्धान गर्दा खात कारोबारीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

खात एक मनोद्विक लागूऔषधी हो। संयुक्त राष्ट्र संघको साईकोक्रोफिक सब्सट्यान्सेज्, १९७१ को सम्मेलनको अनुसूची ३ मा यसलाई राखिएको छ। र नेपालले पनि यो वनस्पतिलाई अवैध लागूऔषधको रूपमा राखेको छ। खातको प्रयोगलाई नेदरल्यान्डले सन् २०१२ मा प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्