तलबभत्ता नलिने शाहको घोषणा



कुमार श्रेष्ठ, बाँके
बाँकेमा अर्का उम्मेदवारले तलबभत्ता नलिने घोषणा गरेका छन्। वाम गठबन्धनबाट बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ को उम्मेदवार भएसंगै विजयकुमार गुप्ताले तलबभत्ता नलिएर सामाजिक सेवामा खर्च गर्ने उद्घोष गरिरहँदा कांग्रेसका लक्ष्मीनारायण शाहले पनि त्यस्तो घोषणा गरेका छन्।

लोकतान्त्रिक गठबन्धनबाट बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा ‘ख’ का उम्मेदवार शाहले आफू निर्वाचित भए त्यसबाट पाउने सरकारी तलबभत्ता विकासमा खर्च गर्ने घोषणा गर्नुभयो। शाहले पनि गुप्ताले जसरी आफू पैसा कमाउन नभई विकास र समृद्धिका लागि उम्मेदबार बनेको बताउनुभयो।

प्रतिनिधि र प्रदेश सभा गरी ९ वटा सिट रहेको बाँकेमा दुई जना सम्भावना बोकेका उम्मेदवारले तलबभत्ता नलिने घोषणा गरिसकेका छन्। उम्मेदवारले विकास र समृद्धिका नयाँनयाँ एजेन्डाहरू बनाइरहँदा २ जनाले भने सरकारी सुविधाबिना नै काम गर्ने उद्घोष गरेका हुन्। नेताद्वयले राजनीतिलाई व्यवसाय भन्दा पनि समाजसेवाका रूपमा अघि बढाउने प्रतिवद्धता गरेका छन्।

शाहको प्रतिस्पर्धी वाम गठबन्धनका पुराना नेता बाबुराम गौतम छन्। ३ दशकबढी राजनीतिमा लागेर जीवनलाई समाजसेवामा बिताएका सादगी गौतमलगायतसँग प्रतिस्पर्धामा रहेका शाहको तलबभत्ता विकासमा खर्च गर्ने उद्घोषले केही प्रभाव पार्न सक्ने आँकलन गरिएको छ। त्यस्तै, नेपालगन्जमा गुप्ताको प्रतिस्पर्धा सादगी सुरेन्द्र हमाललगायतसँग रहेको छ। राजनीतिलाई कमाउ धन्दाका रूपमा बुझ्ने, चुनाव जितेको केही समयपछि नै व्यक्तिगत सम्पत्तिमा ठूलो फेरबदल हुने प्रवृत्ति देखेका जनतालाई उम्मेदवारद्वय शाह र गुप्ताको घोषणाले थप उर्जा दिएको छ।

चुनाव नजिकिदै जाँदा जनताको मन जित्ने घोषणा र सुक्ष्म विकास एजेन्डा अगाडि सारिएका छन्। घरदैलो र भेटघाट तीव्ररूपमा अघि बढेको छ। धेरैजसो उम्मेदवारले आफ्नो क्षेत्रमा एक चरणको घरदैलोलाई अन्तिम अवस्थामा पुर्याएका छन् भने केहीले पहिलो चरणमा भ्याएर छुटेकालाई समेट्ने काम गरिरहेका छन्। प्रचारप्रसारको समय हप्ता दिनभन्दा कम बाँकी रहँदा उम्मेदवारलाई भ्याइनभ्याइ भएको छ।

चुनावको समयमा जिल्लाको मात्रै नभएर टोलटोलका स–साना समस्या उम्मेदवारका एजेन्डा बनेका छन्। उम्मेदवार आफ्नो पक्षमा मत ल्याउन आफू मात्रै नभएर गाउँटोलका अगुवा, समाजसेवीलाई अगाडि सारेका छन्। गाउँटोलमा प्रभाव पार्ने, प्रतिष्ठित व्यक्तिलाई आफ्नो पक्षमा पारेर जनतालाई रिझाउन उम्मेदवारको होडबाजी देखिएको छ। व्यापारी, बुद्धिजीवी, शिक्षक, कानुन व्यवसायीलाईसमेत उम्मेदवारले सुक्ष्म तरिकाले परिचालन गरेका छन्।

उम्मेदवार चुनाव होमिरहँदा चुनाव गराउनेदेखि शान्ति सुरक्षा कायम गर्ने निकाय पनि फुर्सदमा छैनन्। देशमा विभिन्न स्थानमा चुनाव विरोधी गतिविधि भइरहदा बाँकेमा सुरक्षालाई मजबुत गराउने, निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनदेखि मतदाता शिक्षालगायत कामहरू द्रूतगतिमा अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्