तलव भत्ता नलिने शाहको पनि घोषणा



कुमार श्रेष्ठ, बाँके । बाँकेमा अर्का उम्मेदवारले तलव भत्ता नलिने घोषणा गरेका छन् । वामगठबन्धनबाट बाँके क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’ को उम्मेदवार भएसँगै विजयकुमार गुप्ताले तलव भत्ता नलिएर सामाजिक सेवामा खर्च गर्ने उद्घोष गरिरहदा कांग्रेसका लक्ष्मीनारायण शाहले पनि त्यस्तो घोषणा गरेका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट बाँके क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’ का उम्मेदवार शाहले आफू निर्वाचित भए त्यसबाट पाउने सरकारी तलव भत्ता विकासमा खर्च गर्ने घोषणा गर्नुभयो । शाहले पनि गुप्ताले जसरी आफू पैसा कमाउन नभई विकास र समृद्धिका लागि उम्मेदबार बनेको बताउनुभयो ।
प्रतिनिधि र प्रदेश सभा गरी नौ वटा सीट रहेको बाँकेमा दुई जना संभावना बोकेका उम्मेदवारले तलव भत्ता नलिने घोषणा गरिसकेका छन् । उम्मेदवारहरुले विकास र समृद्धिका नयाँ नयाँ एजेन्डाहरु बनाइरहदा दुई जनाले भने सरकारी सुविधा बिना नै काम गर्ने उद्घोष गरेका हुन् । नेताद्वयले राजनीतिलाई व्यवसाय भन्दा पनि समाजसेवाका रुपमा अघि बढाउने प्रतिबद्धता गरेका छन् ।
शाहको प्रतिस्पर्धी वामगठबन्धनका पुराना नेता बाबुराम गौतम छन् । तीन दशकबढी राजनीतिमा लागेर जीवनलाई समाजसेवामा बिताएका सादगी गौतमलगायतसँग प्रतिस्पर्धामा रहेका शाहको तलव भत्ता विकासमा खर्च गर्ने उद्घोषले केही प्रभाव पार्न सक्ने आकलन गरिएको छ । त्यस्तै, नेपालगञ्जमा गुप्ताको प्रतिस्पर्धा सादगी सुरेन्द्र हमाललगायतसँग रहेको छ । राजनीतिलाई कमाउ धन्दाको रुपमा बुझ्ने, चुनाव जितेको केही समयपछि नै व्यक्तिगत सम्पत्तिमा ठूलो फेरबदल हुने प्रवृत्ति देखेका जनतालाई उम्मेदवारद्वय शाह र गुप्ताको घोषणाले थप उर्जा दिएको छ ।
चुनाव नजिकिदै जादा जनताको मन जित्ने घोषणा र सुक्ष्म विकास एजेन्डाहरु अगाडि सारिएका छन् । घरदैलो र भेटघाट तिब्ररुपमा अघि बढेको छ । धेरैजसो उम्मेदवारले आफ्नो क्षेत्रमा एक चरणको घरदैलोलाई अन्तिम अवस्थामा पु¥याएका छन् भने केहीले पहिलो चरणमा भ्याएर छुटेकालाई समेट्ने काम गरिरहेका छन् । प्रचार प्रसारको समय हप्ता दिन भन्दा कम बाँकी रहदा उम्मेदवारहरुलाई भ्याइनभ्याइ भएको छ ।
चुनावमा समयमा जिल्लाको मात्रै नभएर टोलटोलका स–साना समस्याहरु उम्मेदवारहरुका एजेन्डा बनेका छन् । उम्मेदवारहरु आफ्नो पक्षमा मत ल्याउन आफूमात्रै नभएर गाउँटोलका अगुवा, समाजसेवीलाई अगाडि सारेका छन् । गाउँटोलमा प्रभाव पार्ने, प्रतिष्ठित व्यक्तिलाई आफ्नो पक्षमा पारेर ऊमार्फत जनतालाई रिझाउन उम्मेदवारको होडबाजी देखिएको छ । व्यापारी, बुद्धिजीवि, शिक्षक, कानून व्यवसायीलाई समेत उम्मेदवारहरुले सुक्ष्म तरिकाले परिचालन गरेका छन् ।
उम्मेदवारहरु चुनाव होमिरहदा चुनाव गराउनेदेखि शान्ति सुरक्षा कायम गर्ने निकाय पनि फुर्सदमा छैनन् । देशमा विभिन्न स्थानमा चुनाव विरोधी गतिविधि भइरहदा बाँकेमा सुरक्षालाई मजबुत गराउने, निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनदेखि मतदाता शिक्षालगायत कामहरु दु्रतगतिमा अघि बढेको छ ।
सीमावर्ती जिल्ला भएकाले यहाँ साना हतियारको प्रयोग, अपराधिक समूहको घुसपैठको चुनौती सधैं रहने गर्दछ । देशका विभिन्न ठाउँमा भएका चुनाव र उम्मेदवार लक्षित आक्रमणलाई ध्यानमा राखेर बाँकेमा केही उम्मेदवारलाई सुरक्षाकर्मी दिइएको छ । प्रहरी प्रशासनले मतदान स्थलको पनि निरीक्षण अनुगमन गरिरहेको छ । बाँकेका धेरैजसो मतदान स्थल अति संवेदनशील सूचीमा राखेर योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्