कमल थापाको घरनजिक बम विस्फोट



हेटौंडा,(नेस) । हेटौंडाको वडा नम्बर–६, गौरीटारमा रहेको उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष कमल थापाको घरनजिक विष्फोटक पदार्थ विस्फोट गराइएको छ । बुधबार विहान करिब १० बजे भएको विस्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
गौरीटारमा थापाको घरभन्दा करिब २ सय मिटर दक्षिणतर्फ विस्फोट गराइएको हो । स्कुल नजिकको र्इंटाको थुप्रोमा विष्फोटक पदार्थ विष्फोट गराइएको थियो । घर निर्माणका लागि ईंटा थुपारिएको ठाउँबाट आवाज आएको स्थानीयले बताए । प्रहरीका अनुसार विष्फोटक पदार्थ राख्नेको खोजी भइरहेको छ ।
मकवानपुरको क्षेत्र नम्बर–१, फापरबारीमा हुने चुनाबीसभालाई सम्बोधन गर्न त्यसतर्फ जान लाग्नुभएका उम्मेदवार थापा, नेपाली काँग्रेसका प्रदेशसभा उम्मेदवारहरु इन्द्रबहादुर बानियाँ र धर्मराज लामिछानेसमेत हेलिकोप्टर लिएर त्यसतर्फ उड्न लागेका बेला बम विस्फोट भएको हो । विष्फोटका बेला उहाँहरु थापाको निवासमै हुनुहुन्थ्यो ।
बालजागृति युवावर्ष माध्यमिक विद्यालयको चौरमा ल्याण्ड गरिएको हेलिकोप्टर उड्नै लाग्दा बम पड्किएको हो । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु त्यसलगत्तै फापरबारी जानुभएको थियो । थापा उपप्रधान तथा ऊर्जामन्त्री हुनुहुन्छ भने बानियाँ पूर्व गृहराज्यमन्त्री हुनुहुन्छ । थापा मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्