कम्युनिष्ट अधिनायकवाद की लोकतान्त्रिक शासन, जनताले आँफै रोज्ने छन्– देउवा

0
Shares

धन बस्नेत, पोखरा ।

प्रधानमन्त्री शरेबहादुर देउवाले कम्युनिष्ट र लोकतान्त्रिक शासन पद्धतिको महत्वपूर्ण मोडमा उभिएको बताएका छन् । उनले काँग्रेसले लोकतन्त्र र कम्युनिष्टले अधिनायकवाद ल्याउने भन्दै त्यस्तो महत्वपूर्ण घडीमा उभिएको बेला जनताले फैसला गर्नुपर्ने बताए ।

“कम्युनिष्टको अधिनायकवाद शासन र काँग्रेसको लोकतान्त्रिक शासन पद्धतिको मोडमा उभिएका र्छौ ।” प्रधानमन्त्री देउवाले बुधबार पोखरामा आयोजित काँग्रेसको जनसभालाई सम्बोधन गर्दै भने–“कम्युनिष्ट शासनले लोकतन्त्रको अन्त्य गर्छ । त्यसैले लोकतन्त्र जोगाउन रुखमा भोट हाल्नोस ।”

प्रधानमन्त्री देउवाले कम्युनिष्टले संविधान खारेज गर्ने षडयन्त्रमा जुटिरहेको आरोप समेत लगाए । “अधिनायकवादले आर्थिक समृद्धिको परिकल्पना गर्न सकिदैन ।” उनले भने–“एकतन्त्रीय शासनले आर्थिक समृद्धि हुदैन् ।” उनले आर्थिक समृद्धिको लागि पुँजी बृद्धि गर्नुपर्ने भन्दै विदेशी लगानी भित्रयाउनुपर्ने जोड दिए ।

“विदेशीले नेपाली काँग्रेसलाई मात्रै पत्याउँछन् ।” उनले भने–“त्यसैले आर्थिक समृद्धि नेपाली काँग्रेस बाहेक अरुले सक्दैनन् ।” नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल साम्यवाद थुपार्ने कन्टेनर नभएको जिकिर गरे । “कम्युनिष्टले समस्या मात्रै सृजना गर्छ ।” उनले भने–“विश्वमै कतै नभएको साम्यवाद ल्याउने षडयन्त्र कम्युनिष्टले गरेका छन् ।” साम्यवाद विश्वबाटै फालिएको भन्दै नेता पौडेलले साम्यवाद थुपार्ने नेपाल कन्टेनर नभएको स्पष्ट पारे ।

नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले साम्यवादमा व्यक्तिगत अधिकार हनन हुने भन्दै त्यसको विरुद्ध नेपाली काँग्रेसलाई भोट दिई समृद्धिको अभियानमा लाग्न आग्रह समेत गरे । उद्योगी विनोद चौधरीले नेपाली काँग्रेसले शुरुवात गरेको आर्थिक क्रान्तिको एजेण्डालाई अबको निर्वाचनको मत परिणामले सार्थकता दिने बताए ।

“काँग्रेसले थालेको आर्थिक क्रान्ति, उदारीकरण र रोजगारी सृजना एजेण्डालाई मुर्त रुप दिन जरुरी छ ।”उनले भने–“अर्थतन्त्र सबलीकरण गर्न आर्थिक एजेण्डा नै चाहिन्छ । त्यसको लागि नेपाली काँग्रेसले जित्नुपर्छ ।” कार्यक्रममा नेपाली काँग्रेस नेता बालकृष्ण खाँड, आमन्त्रित केन्द्रीय सदस्य सुर्यबहादुर केसी, कुमार खड्का तथा कास्कीका प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवार लगायतले सम्बोधन गरेका थिए ।