प्रकाशमान थाक्नुभोः ओली



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रकाशमान सिंह थाकेको बताउनुभएको छ। वाम गठबन्धन काठमाडौंले आयोजना गरेको चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।

उहाँले नेपालमा नाकाबन्दी लाग्दासमेत संयुक्त राष्ट्रसंघको सभामा नाकाबन्दी छैन भनेर देशको शिर झुकाउने काम गरेको बताउनुभएको हो। निर्वाचनमा राम्रो मान्छेभन्दा पनि नीति र विचार राम्रो भएको पार्टीलाई रोज्नुपर्ने बताउँदै अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने वामपन्थी सरकारले नै देशको समृद्धि र विकास गर्ने बताउनुभयो।

‘प्रधानमन्त्री देउवा कम्युनिस्ट पार्टीले जित्यो भने लोकतन्त्र मासिन्छ भन्दै हिँड्नुभएको छ’, अध्यक्ष ओलीले भन्नुभयो– ‘विगतको निर्वाचनमा कम्युनिस्ट सरकार आए ६० वर्षभन्दामाथिका बूढाबूढीलाई मार्छ भनेर भाषण गरे पनि अहिले त्यो आँट गर्न सकेका छैनन्।’ वामपन्थी गठबन्धले देशको स्वाभीमान र राष्ट्रको हितलाई केन्द्रमा राखेर काम गर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले देशको समृद्धिका लागि फराकिलो मन र छाती चाहिने बताउनुभयो। उहाँले अब देश स्थायित्व र विकासको गतिमा अगाडि बढ्ने बताउनुभयो। एमाले र माओवादी केन्द्रको एउटै पार्टी बनाउने प्रतिबद्धतासहित अगाडि बढेको बताउँदै उहाँले निर्वाचनपछि एउटै पार्टी बन्ने बताउनुभयो।

‘आँसु खसालेर गणेशमानले कांग्रेस छोड्नुभो, जीवनभर बनाइएन, दुःख गरियो तर काम छैन भनेर छोडनुभो’, अध्यक्ष ओलीले भन्नुभयो– ‘अहिले कांग्रेसका थुप्रै नेताहरू नयाँ पार्टी बनाउने भनेर हिँड्नुभएको छ, नयाँ पार्टी बनाउनेतिर होइन एमालेमा आउनुहोस् देश बनाऔं।’ उहाँले संविधान कार्यान्वयनका लागि हुँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको विशेष महत्त्व रहेको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्