नारायणहिटीभित्र बन्यो गणतन्त्र स्मारक



नेपाल समाचारपत्र
काठमाडौं
गणतन्त्र स्थापना भएको प्रतीकको रूपमा सरकारले नारायणहिटी दरबार संग्रहालयभित्र गणतन्त्र स्मारक निर्माण गरेको छ। स्मारकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गणतन्त्रको झ–झल्को दिने गरी नारायणहिटी परिसरभित्र स्मारक निर्माण गरिएको हो। गणतन्त्र स्मारकको भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागले नवनिर्मित गणतन्त्र स्मारक नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गर्नेछ।

शहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक मणिराम गेलालले स्मारकको अधिकांश भौतिक संरचना निर्माण सम्पन्न भएको बताउनुभयो। गणतन्त्र स्मारकले देशको पहिचान दिने बताउँदै उहाँले आन्तरिक एवं बाह्य पर्यटकको केन्द्र हुने दाबी गर्नुभयो। २०६९ चैतबाट शुरू भएको स्मारक जग्गा प्राप्तिलगायतका कारणले डेढ वर्ष ढिलो गरी निर्माण सम्पन्न हुनलागेको हो।

स्मारक निर्माणका लागि सरकारले बिकोई बिल्डर, स्काई बिल्डर तथा बंगलामुखी कन्स्ट्रक्सनसँग २०६९ मंसिर २२ गते सम्झौता गरेको थियो। शहरी विकास तथा भवन निर्माण मन्त्रालयको मातहतमा निर्माण भएको स्मारक २०७२ मंसिर २१ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीको कारण निर्माणकार्यमा ढिलाइ भएको थियो। मन्त्रिपरिषद्को बैठकले नारायणहिटी क्षेत्रको ८२ रोपनी क्षेत्रफलमा गणतन्त्र स्मारक निर्माण गर्ने निर्णय गरे पनि नेपाली सेनाले ३५ रोपनी क्षेत्रफल जग्गा मात्र उपलब्ध गराएको थियो। विभागका अनुसार स्मारक निर्माणमा हालसम्म ३४ करोड २२ लाख खर्च भइसकेको र ४२ करोड रुपियाँ कुल अनुमानित लागत रहेको छ।

१२ मिटर उचाइ रहने स्मारकमा अप्पर बेसमेन्ट तथा लोअर बेसमेन्ट गरी दुई ग्यालेरी रहने बताउँदै गेलालले स्मारकमा रहने चार वटा खम्बामा बेपत्ता पारिएका, अंगभंग भएका, मृत्यु भएकाको स्मरण गरिने गरी स्मारक निर्माण भएको बताउनुभयो। स्मारकको फ्लोरमा धातुले बनेको नेपालको नक्सा राखिने छ। स्मारक अपांगमैत्री हुने र अन्डरग्राउन्डमा सहज ढंगले हावा पास गराउने प्रविधिको पनि प्रयोग भएको छ।

सरकारले गणतन्त्र स्मारकलाई देशमा गणतन्त्रको प्रतीकको रूपमा चिनाउनुका साथै आन्तरिक एवं बाह्य पर्यटनको केन्द्रसमेत बनाउने लक्ष्य राखेको छ। गणतन्त्र स्मारक निर्माण गर्नुअघि नै निर्माण गर्ने भनिएको गणतन्त्र स्तम्भ निर्माणको काम भने अलपत्र परेको छ।
स्थान परिवर्तन गर्दै हाल कीर्तिपुरको गुसिङ्गालमा निर्माण हुने भने पनि बजेट अभावले अलपत्र परेको विभागले बताएको छ। विभागले गणतन्त्र स्तम्भको डिजाइन सम्पन्न गरेर जग्गा प्राप्ति गरे पनि निर्माण कार्यका लागि बजेट नहुँदा काम अगाडि बढ्न सकेको छैन। पटक–पटक स्थान परिवर्तन हुँदै अन्ततः नारायणहिटी दरबार संग्रहालयभित्र गणतन्त्र स्मारकको काम भने सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्