बाटो कालोपत्रे गर्छु भन्दै देउवाले ढाँटेः स्थानीय बासिन्दा



हेमन्त पौडेल, धनगढी
आफू विजयी भएलगत्तै सडक कालोपत्रे गर्छु भन्दै २०७० सालको निर्वाचनमा मत माग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूलाई ढाँटेको उर्माका बासिन्दाहरूले गुनासो गरेका छन्।

२०७० सालको संविधान सभा निर्वाचनमा देउवा डडेल्धुरा र कैलालीको तत्कालीन क्षेत्र नं ६ बाट उम्मेदवारी दिनुभएको थियो। ‘चुनाव प्रचारका क्रममा त्यति बेलाको उर्मा गाविसको उर्मामा पुग्नुभएका देउवाले मलाई जिताउनुहोस् तपाईंहरूले धुलो खानुपर्दैन म यो बाटोलाई कालोपत्रे गरिदिन्छु भन्नुभयो तर चुनाव जितेपछि सडक पनि कालोपत्रे भएन आफू पनि आउनुभएन’ –स्थानीय बासिन्दा रामबहादुर चौधरीले बताउनुभयो।

चुनावका बेलामा आश्वासन दिने र चुनाव जितेर गएपछि नेताहरू फर्किएर नआउँदा गाउँमा नेताहरूप्रति वितृष्णा जागेको उहाँको भनाइ छ। ‘सम्भव नहुने कामलाई पनि किन आश्वासन दिन्छन्, बुझ्नै सकिएन’ –चौधरीको टिप्पणी छ।

धनगढी फूलबारीको खुटिया नदीबाट पर्यटकीय गाउँ होमस्टे भादासम्म जाने सडक कालोपत्रे गर्ने भन्दै चुनावमा उर्माका उर्मी, कनरी र भादा गाउँमा पुगेर भाषण गर्नुभएका देउवाले पछि फर्किएर पनि जनताको समस्याप्रति चासो नराखेको अर्का स्थानीय बासिन्दा कृष्णचन्द रानाले बताउनुभयो।

वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य सडक भएपछि भादा होमस्टेमा जान मानिसहरूलाई निकै समस्या हुने गरेको थियो। ‘स्थानीयले कनरी भादा सडक कालोपत्रे गर्न माग गरेपछि त्यतिबेला देउवाले आफूलाई विजयी गराउनुस् तत्काल सडक कालोपत्रे गर्छु भन्नुभएको अहिले पनि सम्झना छ तर सडक कालोपत्रे भएन’ –रानाले भन्नुभयो। ‘त्यतिबेलाको निर्वाचनमा गरेको वाचा पूरा नहुँदै अर्को निर्वाचन आएको छ, यस पटक पनि यही मुद्दा उहाँले बनाउनुहुन्छ होला, अब हामी विश्वास गर्दैनौं’ –उहाँको भनाइ छ।

‘यतिखेर पाँच नम्बर क्षेत्रबाट प्रधानमन्त्री पत्नी आरजु देउवा निर्वाचन लडेको सुनेका छौं, उहाँ पनि यही मुद्दा लिएर आउनुहुन्छ होला, हाम्रो विश्वास टुटिसकेको छ’ –उर्माका रामलक्ष्मण रानाले भन्नुभयो।
उहाँका अनुसार शेरबहादुर देउवाको प्रचारमा आरजु देउवा पनि आउनुभएको थियो। हाम्रा गाउँघरमा पुगेर आरजुले पनि तपार्इंहरूको गाविसमा १४ वटा एनजीओ पठाउँछु, सबै घरमा रोजगारी पाइन्छ, शेरबहादुर देउवालाई भोट दिएर विजयी गराउनु भनेको अहिले पनि झलझली याद आइरहेको रानाले बताउनुभयो।

‘हाम्रा बेरोजगार छोराछोरीले रोजगारी पाउलान् भन्दै सहयोग गर्यौं तर न त एनजीओहरू आए न रोजगारी नै हाम्रा छोराछोरीले पाए’ –उहाँले भन्नुभयो। लाटा सोझा जनतालाई झुक्याएर भोट माग्ने र विजयी भएपछि वाचा पूरा नगर्ने नेताहरूका कारणले आजभोलि कुनै कुराको पनि विश्वास लाग्न छोडेको स्थानीय बताउँछन्।

अहिले पनि कनरीदेखि भादासम्मको पूरै सडक कच्ची रहेको छ। सडक धुलाम्य भएकाले सडक छेउको बस्तीसमेत धुलाम्य हुने गरेको छ। धुलोले पूरै बस्ती प्रभावित हुने गरेको छ। धुलोका कारण सडकछेउका मानिस बिरामी हुने गरेको धनगढी उपमहानगरपालिका १५ का वडाध्यक्ष फूलराम चौधरीले बताउनुभयो। नगरपालिकाको बजेटबाट सडक कालोपत्रे सम्भव नभएकाले केन्द्रबाटै बजेट आउनुपर्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्