आचार संहिता विपरितका प्रचार सामाग्री हटाइयो



कुमार श्रेष्ठ, बाँके ।

राजनीतिक दलले चुनाव प्रचार प्रसारका लागि सडकमा टाँगिएका प्रचार सामाग्रीहरु प्रमुख निर्वाचन अधिकृतको कार्यालयले प्रहरीको सहयोगमा हटाएको छ ।

आचार संहिता विपरितका प्रचार सामाग्रीहरु तीन दिनभित्र हटाउने दलहरुले सहमति गरेपनि पालना नभएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार प्रहरीको सहयोगमा त्यस्ता सामाग्री हटाएको हो । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदी, प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रहरीका प्रमुखहरुको उपस्थितिमै सडकमा छ्याप्छ्याप्ती टाँगिएका चुनाव चिन्हको तोरण, फ्लेक्स, होडिङबोर्ड हटाइएको छ ।

टोलीले जमुनाहादेखि सुर्खेतरोड र सदरलाइनमा टांगिएका प्रचार सामाग्रीहरु हटाएको छ । मुख्य निर्वाचन अधिकृत सुवेदीले आचार संहिता विपरितका सधैं प्रचार सामाग्री हटाउने अभियानमा निस्केको बताउनुभयो । ‘हामीले हटाइरहेका छौं । कति हटे त्यसको अनुगमन पनि भइरहेको छ, मुख्य निर्वाचन अधिकृत सुवेदीले भन्नुभयो, सबै हटाउँछौं ।’

भोट माग्नेसँगै प्रचार सामाग्री सार्वजनिक स्थलमा टाँस्ने प्रतिस्पर्धाले गर्दा केही दिन यता गाउँ, शहर रंगिएका छन् । नेपालगञ्जको सुर्खेतरोड, सदरलाइन, एक्लैनी बजार चुनाव चिन्हको तोरणले रंगिएको थियो । चोकचोकमा मात्रै नभएर पोलपोलमा तोरण लगाइएका छन् । सबै ठाउँका प्रचार सामाग्रीहरु हटाउने अभियानमा टोली निस्केको छ ।

निर्वाचन आयोगले चुनाव चिन्ह अंकित टिसर्ट, टोपी लगाउन प्रतिबन्ध लगाएपछि राजनीतिक दलहरुले फ्लेक्स बोर्ड, तोरण, स्टीकर, पर्चा, पम्प्लेट छ्याप्छ्याप्ती गराएका थिए । सार्वजनिकस्थलमा प्रचार सामाग्री टांस्ने एकप्रकारको होडबाजी सिधिएको छ । मुख्य सडकका साथै भित्रीसडक र गाउँतिर पनि टोली पुग्ने सम्बद्धहरु बताउँछन् ।

यसैबीच, बाँकेमा उम्मेदवारहरु आफ्ना प्रतिबद्धताहरु गर्दै जनताको घरदैलोमा मत माग्न पुगेका छन् । कतिपय उम्मेदवारहरुले पहिलो चरणको घरदैलो सिध्याएका छन् । घरदैलो सिध्याएका उम्मेदवारहरु व्यक्तिगत भेटघाटमा निस्किन थालेका छन् ।

वामगठबन्धन क्षेत्र नं. २ ले नेपालगञ्जमा घरदैलो सम्पन्न गरेको छ । कात्तिक २८ गते वडा नं. २ बाट शुरु भएको घरदैलो सोमबार वडा नं. १ मा पुगेर समापन भएको छ । अन्य दल र अन्य ठाउँमा घरदैलो र भेटघाट चलिरहेको छ ।

चुनाव नजिकिदै जादा घरदैलो र समाजमा प्रभाव पार्ने व्यक्तिको सामित्यमा उम्मेदवारहरु पुगेका छन् । पहिलो चरणको प्रचार प्रसार सकिएका र अन्तिम चरणमा पुगेका उम्मेदवार तथा दलहरु दोस्रो चरणको रणनीति बनाउन व्यस्त रहेका छन् । बाँकेमा वाम र लोकतान्त्रिक गठबन्धन आ–आफ्नै दावीका साथ अगाडि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्