चर्चित नेताले गरे मतदान



ईश्वरराज ढकाल, काठमाडौं
पहिलो चरणअन्तर्गत ३२ जिल्लाको ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाको निर्वाचनमा संयुक्त वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा नाम चलेका नेताहरूले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रदेश नम्बर १ को ७, ३ को ६, ४ को ६, ५ को २, ६ को ७ र ७ को ४ गरी ३२ जिल्लाको ३७ क्षेत्रको निर्वाचन सम्पन्न मतदानमा पूर्वमन्त्रीदेखि बहालवाला मन्त्रीसम्मले चुनावमा प्रतिस्पर्धा गरेका छन्। गोरखामा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। भट्टराईले गोरखा क्षेत्र नं. २ पालुङ्टार नगरपालिकाको अन्नपूर्ण माविको खोप्लाङ मतदान केन्द्रबाट र श्रेष्ठले सिरानचोक गाउँपालिका–८ को जौवारी मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरा र एमालेका शेरबहादुर तामाङले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अन्तर्गतको भिन्न–भिन्न मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र माओवादी केन्द्रका अग्नि सापकोटा सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्नुभएको छ। त्यस्तै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गर्नुभएको छ। त्यसै गरी माओवादी केन्द्रका नेता तथा रुकुमका उम्मेदवार जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका यमुनान्दमुना उमावि केन्द्रबाट मतदान गर्नुभएको छ। निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ।

माओवादी केन्द्रका नेता वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीले रोल्पाबाट, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाट, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटबाट, पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता कमला रोका, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसीले नुवाकोटबाट मतदान गर्नुभएको छ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बागलुङबाट मतदान गर्नुभएको छ। ओखलढुंगामा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवारले मतदान गर्नुभएको छ। एमाले नेता पृथ्वी सुब्बा गुरुङले लमजुङ, माओवादी केन्द्रबाट देवेन्द्र पौडेलले बागलुङ–२, पूर्वमन्त्री राजेन्द्र पाण्डेले धादिङ–१ बाट मतदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्