भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना



नेपाल समाचारपत्र
काठमाडौं
राजधानीको ओम अस्पतालमा उपचार गराइरहनुभएका नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर नेपालका लागि भारतीय राजदूत मनजीवसिंह पुरीले स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ। शुक्रबार दिउँसो अस्पताल पुग्नुभएका राजदूत पुरीले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो।

राजदूत पुरी विवाह पञ्चमीका अवसरमा जनकपुरमा आयोजित राम–जानकी विवाह महोत्सवमा सहभागी भएर काठमाडौं फर्कने क्रममा एयरपोर्टबाट सिधै चाबिहलको ओम अस्पताल जानुभएको थियो। स्वास्थ्य अवस्था बारे जानकारी लिने क्रममा भारतीय राजदूत पुरीले कांग्रेस नेता निधिको निर्वाचन क्षेत्र धनुषा–३ को चुनावको माहोल अवलोकन गरेको बताउनुभएको थियो।

कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाललगायतको टोलीले हेरिरहेको छ। चिकित्सकहरूले उहाँलाई केही दिन आराम गर्नुपर्ने बताएका छन्। धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आउनुभएको थियो। त्यस क्रममा धुलोधुवाँका कारण केही असहज भएपछि उहाँ गत सोमबार राजधानी आउनुभएको हो।

प्रतिक्रिया दिनुहोस्