कम्युनिष्ट शासन जनताको लागी घातक: प्रधानमन्त्री



धनवीर दाहाल, रुकुम ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट शासन जनताको लागी घातक भएको बताउनुभएको छ । बाम गठबन्धनको नाममा नेपालमा कम्युनिष्टहरुले अधिनायकवाद निम्त्याउन खोजेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले अव नेपालमा लोकतन्त्रबादी र अधिनायकबादीको लडाइ कायमै रहेको धारणा राख्नुभयो ।
नेपाली कांग्रेस रुकुम पश्चिमले मुसिकोटमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले एकदलिय कम्युनिष्ट शासन रोज्ने कि बहुदलिय प्रजातान्त्रिक प्रणाली रोज्ने अव जनताको जिम्मा भएको बताउनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्ट शासन आयो भने सुख सँग बोल्न पनि पाइदैन, लेख्न पनि पाइदैन ।

कम्युनिष्ट शासनमा जनता सार्वभौम हुन पाउँदैन ।” अहिलेको बाम गठबन्धन प्रजातन्त्रको बिरुद्धमा भएको उहाँको भनाई छ । नेपालमा कम्युनिष्टहरुले लोकतन्त्रलाई धरापमा पार्न खोजेको आरोप प्रधानमन्त्रीले लगाउनुभयो ।

अव देश चुनावमय भएको र दुवै चरणका चुनाव शान्ति पुर्ण हुने बिश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले अझै पनि कति पयले चुनाव हुँदैन कि भन्ने भ्रम पालेकोले त्यस्तो भ्रम नपाल्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै भन्नुभयो “उहाँले चुनाव सकिएको भोली पल्ट समेत चुनाव सार्छ भन्नुहुनेछ ।

म चुनाव हुन्छ भन्छु उहाँले चुनाव सार्दैछ भन्नुहुन्छ, उहाँको दिमाग के भा होला ?” यसै गरी प्रधानमन्त्रीले नेपाली कांग्रेस मात्र लोकतन्त्र प्रति बिश्वास राख्ने पार्टी भएकोले अवको निबार्चन पछि नेपाली कांग्रेसको बहुमतको सरकार आउने दावी गर्नुभयो ।

जनताले एकदलिय शासन नचाहने भन्दै उहाँले नेपाली जनताले नेपाली कांग्रेसलाई सरकार बनाउन अधिकार दिने उहाँको बिश्वास छ । कसैले निबार्चनमा धाँदली गर्ने सपना नदेख्न चुनौती दिँदै उहाँले चुनावमा बुथ कब्जा गरेर धाँदली गर्नेलाई कानुनी कार्वाही गरिने जानकारी दिनुभयो । मतदातालाई निर्धक्क भएर आफ्नो मतदान केन्द्रमा गएर भोट हाल्नुस उहाँले भन्नुभयो तपाईको सुरक्षाको लागी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगाएतका निकाय तैनाथ छन् । प्रधानमन्त्री देउवाले निबार्चन पछि देशमा शुसासन कायम हुने संबिधान पुर्ण रुपमा कार्यान्वयन हुने बताउनुभयो ।

चुनावी सभामा नेपाली कांग्रेस रुकुम पश्चिम प्रतिनिधि सभाका उम्मेदवार गोपालजीजंग शाहले आफ्ना प्रतिस्पर्धी बामबठन्धनका उम्मेदवार जनार्दन शर्मालाई आफुले पराजित गर्ने दावी गर्नुभयो ।
उहाँले अव रुकुमका जनता सचेत भएको भन्दै रुकुम पनि कांग्रेसको किल्ला भएको दावी गर्नुभयो । यस्तै प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार कृष्णबहादुर रोकायले आफ्नो जित सुनिश्ति भएको बताउनुभयो । उहाँले रुकुममा कांग्रेसले जितेर देखाउने धारणा राख्नुभयो ।

क्षेत्र नं २ का उम्मेदवार खड्ग डाँगीले रुकुम बिगतको जस्तो नभएको बताउँदै यस पटक रुकुममा कांग्रेसको जित हुने दावी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस रुकुमका पुर्व सभापति एवं समानुपातिक उम्मेदवार मानबहादुर नेपालीले कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमबहादुर ओली र पुर्व राज्य मन्त्री मिठु मल्ल लगाएतले कांग्रेसको बिजय निश्चित भएको दावी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्