पहिलो चरणको जोडघटाउ गर्दै प्रमुख दलहरू दुवै गठबन्धन बहुमतको कसरतमा



रामकृष्ण चापागाईं, काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ जिल्लामा आउँदो आइतबार निर्वाचन हँुदै छ। तीन दिनपछि हुने यो निर्वाचनमा प्रतिनिधि सभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ क्षेत्रमा निर्वाचन हँुदै छ।

यी क्षेत्रहरूमा नेपाली कांग्रेस, राप्रपा (प्रजातान्त्रिक) र नयाँ शक्तिबीचको लोकतान्त्रिक गठबन्धन तथा एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

पहिलो चरणअन्तर्गत प्रदेश नम्बर १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ गरी सातवटा जिल्ला, प्रदेश नम्बर ३ को नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी ६ वटा जिल्लामा निर्वाचन हुँदै छ।

पहिलो चरणमै प्रदेश नम्बर ४ को मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा तथा प्रदेश नम्बर ५ को रुकुम (पूर्वी भाग) र रोल्पामा निर्वाचन हँुदै छ। प्रदेश नंम्बर ६ को रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा गरी ७ वटा जिल्ला र प्रदेश नम्बर ७ को दार्चुला, बझाङ, बाजुरा र बैतडी गरी ४ वटा जिल्लामा पनि पहिलो चरणमै निर्वाचन हुँदै छ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको प्रभुत्व रहेको पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा मौन अवधि शुरू हुनै लाग्दा यी दुई गठबन्धनका रणनीतिकारहरू भने जोडघटाउ गर्दै शीर्ष नेताहरूलाई रिपोर्ट बुझाउन व्यस्त भएका छन्। दुवै गठबन्धनले आ–आफूले निर्वाचन जित्ने दाबी गरिरहेका यी जिल्लाको केही क्षेत्रका नतिजाका बारेमा भने आम सर्वसाधारणले समेत चासो दिइरहेका छन्।

गोरखा क्षेत्र नम्बर १ मा नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाउने र २ मा कांग्रेसले नयाँ शक्तिलाई सघाउने सहमति बनेको छ। जसअनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट चीनकाजी श्रेष्ठ र वाम गठबन्धनबाट माओवादीका हरि अधिकारी प्रतिस्पर्धामा रहेका छन्। स्थानीय निर्वाचनको मत परिणामअनुसार ५४ मतको मात्र अन्तर देखिने यो क्षेत्रमा दुवै प्रतिस्पर्धीले आ–आफै जित्ने दाबी गरेका छन्।

आइतबार हुने निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ को प्रतिस्पर्धा झनै रोचक हुने देखिएको छ। नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा हुँदै छ। यी दुईमध्ये जुन नेताले चुनाव जिते पनि एक नेताको हारले देशैभरि चर्चा पाउनेछ। स्थानीय निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा पनि दुई गठबन्धनबीच ५५ मतको मात्र अन्तर देखिन्छ।
पहिलो चरणको निर्वाचनमा नुवाकोट र सिन्धुपाल्चोकको प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ। नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट डा. रामशरण महत र गठबन्धनका तर्फबाट हितबहादुर तामाङ प्रतिस्पर्धामा छन्। स्थानीय निर्वाचनको मत परिणामअनुसार भारी मतले वाम गठबन्धन अगाडि देखिए पनि कांग्रेसका उम्मेदवार डा. महतको सम्भावना बढी भएको बताइन्छ। महतलाई विजयी गराउन एमालेले कमजोर उम्मेदवार दिएको भनी यसअघि चर्चा भएको थियो। धादिङ क्षेत्र नम्बर १ का प्रदेशसभातर्फका उम्मेदवार एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेसँग महतले सहमति गरी उहाँको क्षेत्रमा कांग्रेसले कमजोर उम्मेदवार उठाउने र महतको ठाउँमा गठबन्धनले कमजोर उम्मेदवार उठाउने सहमति भएको यसअघि पनि चर्चा भएको थियो।

नुवाकोट क्षेत्र नम्बर २ मा कांग्रेसका अर्जुननरसिंह केसी र वाम गठबन्धनका तर्फबाट एमालेका नारायणप्रसाद खतिवडाबीच प्रतिस्पर्धा हुँदै छ। स्थानीय निर्वाचनको मत परिणामअनुसार १७ हजार ८ सय ५९ मतले वाम गठबन्धन अगाडि देखिन्छ। यसअघिको निर्वाचन लगातार जित्दै आएका कांग्रेस उम्मेदवार केसीलाई निर्वाचन जित्न फलामको चिउरा चपाएजत्तिकै हुने भएको छ।

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकको प्रतिस्पर्धालाई पनि आम सर्वसाधारणले रोचक रूपमा हेरिरहेका छन्। सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल भएको छ। क्षेत्र नं १ मा माओवादी केन्द्र्रका अग्निप्रसाद सापकोटा र र नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतबीच प्रतिस्पर्धा हँुदै छ। सिन्धुपाल्चोक २ नम्बर क्षेत्रमा वाम गठबन्धनबाट एमालेका नेता शेरबहादुर तामाङ र नेपाली कांग्रेस र राप्रपाको गठबन्धनबाट पशुपतिशमशेर राणाबीच चुनावी प्रतिस्पर्धा हुँदै छ। राणा र बस्नेत दुवै पार्टीभित्र मात्र हैन राष्ट्रिय राजनीतिका चर्चित व्यक्ति हुन्।

ओखलढुंगा र ताप्लेजुङको चुनावी प्रतिस्पर्धामा पनि राष्ट्रिय राजनीतिमा चर्चित रहेको अनुहारहरूको भिडन्त भइरहेको छ। ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका रामहरि खतिवडा र वाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवारबीच प्रतिस्पर्धा भइरहेको छ भने ताप्लेजुङ्मा नेपाली कांग्रेसका केशव दाहाल वाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराईबीच प्रतिस्पर्धा भइरहेको छ। यहाँ स्थानीय निर्वाचनको मतपरिणामअनुसार नेपाली कांग्रेसभन्दा वाम गठबन्धन ५ हजार ३ सय ४५ मतले अगाडि देखिएको छ।
जाजरकोटमा वाम गठबन्धनबाट माओवादी केन्द्र्रका शक्तिबहादुर बस्नेत र नेपाली कांग्रेसका राजीवविक्रम शाहबीच चुनावी प्रतिस्पर्धा हुँदै छ भने सोलुखुम्बुमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्र्रका हेमकुमार राई र नेपाली कांग्रेसका तर्फबाट बलबहादुर केसीबीच चुनावी प्रतिस्पर्धा हुँदै छ। संखुवासभामा माओवादी केन्द्र र एमालेको वाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र नेपाली कांग्रेसका दीपक खड्का चुनावी मैदानमा छन्। खड्का पूर्वमन्त्रीसमेत हुन्।

पाँचथरमा एमाले माओवादी गठबन्धनबाट एमाले नेता वसन्त नेम्वाङ र नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बे चुनावी प्रतिस्पर्धामा छन्। भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझी र वाम गठबन्धनबाट माओवादीका नेता सुदन किराँतीबीच प्रतिस्पर्धा भइरहेको छ। खोटाङमा वाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराई र नेपाली कांग्रेसका तर्फबाट सरस्वती मजिमय चुनावी प्रतिस्पर्धामा छन्।

आइतबार हुने निर्वाचनमा रोल्पा र रुकुम (पश्चिम भाग) को चुनावी प्रतिस्पर्धा पनि रोचक हुँदै छ। यहाँ वाम गठबन्धको तर्फबाट माओवादी केन्द्रका नेता वर्षमान पुन र जनार्दन शर्माले जित्छन् कि हार्छन् भन्ने आम चासो रहेको छ। रोल्पामा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्र्रका पुन र नेपाली कांग्रेसका तर्फबाट अमरसिंह पुनबीच चुनावी प्रतिस्पर्धा हुँदै छ भने रुकुम जिल्ला पश्चिम भागमा शर्मा र नेपाली कांग्रेसका गोपालजीजंग शाहबीच चुनावी प्रतिस्पर्धा हुँदै छ। माओवादीका दुवै नेता राष्ट्रिय राजनीतिका चर्चित व्यक्ति हुन।

रसुवामा वाम गठबन्धनबाट एमालेका जनार्दन ढकाल र नेपाली कांग्रेसका मोहन आर्चायबीच प्रतिस्पर्धा हुँदै छ भने धादिङ–१ बाट वाम गठबन्धनका भूमि त्रिपाठी र कांग्रेसका विश्व अर्याल चुनावी मैदामा अग्रस्थानमा देखिएका छन्।

दोलखामा नेपाली कांग्रेसबाट रुद्रबहादुर खड्का र वाम गठबन्धनबाट एमालेका पार्वत गुरुङ, रामेछापमा वाम गठबन्धनबाट माओवादी केन्द्र्रका श्यामकुमार श्रेष्ठ र नेपाली कांग्रेसका कान्छाराम तामाङ चुनावी प्रतिस्पर्धामा अग्रस्थानमा छन्। थोरै मतदाता रहेको मुस्ताङमा कांग्रेसका रोमी गौचन थकाली र गठबन्धनका प्रेमप्रसाद तुलाचन चुनावी मैदामा छन्। माओवादी नेता देव गुरुङ चुनावी प्रतिस्पर्धामा रहेको लमजुङमा नेपाली कांग्रेसका तर्फबाट दिलबहादुर घर्तीले प्रतिस्पर्धा गरिहेका छन्।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामध्ये मनाङमा गठबन्धनबाट एमालेका पाल्देन गुरुङ र नेपाली कांग्रेसका तर्फबाट टेकबहादुर गुरुङ चुनावी प्रतिसपर्धामा छन्। दुई क्षेत्र रहेको बाग्लुङमा क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका डा. सूर्य पाठक प्रतिस्पर्धामा छन् भने क्षेत्र नं.२ मा वाम गठबन्धनबाट माओवादीका देवेन्द्र्र पौडेल र नेपाली कांग्रेसका नरबहादुर पुन छन्।

म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट भूपेन्द्र्रबहादुर थापा र नेपाली कांग्रेसबाट गम्भीर गर्बुजा चुनावी मैदानमा रहेका छन् भने रुकुमको पूर्वी भागमा गठबन्धनबाट माओवादी केन्द्र्रका नेता कमला रोका र नेपाली कांग्रेसका नेता अमरसिंह पुनबीच प्रतिस्पर्धा हुँदै छ। हुम्लामा वाम गठबन्धनबाट माओवादी केन्द्र्रका चिमी लामा र नेपाली कांग्रेसका मंगल शाहीबीच प्रतिस्पर्धा हुँदै छ। मुगुमा वाम गठबन्धनका तर्फबाट एमाले नेता गोपाल बम र नेपाली कांग्रेसका तर्फबाट हस्तबहादर मल्लबीच चुनावी प्रतिस्पर्धा हुँदै छ।

स्थानीय निर्वाचनको मत परिणामलाई आधार मान्दा पहिलो चरणमा हुने निर्वाचनमा अधिकांश क्षेत्रमा वाम गठबन्धन अगाडि देखिने भए पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो आधारले मेल नखाने बताइएको छ। स्थानीय निर्वाचनपछि नयाँ मतदाता पनि थपिएका छन्। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणका अनुसार पहिलो चरणको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ १५ र प्रदेशसभातर्फ ४० सिटमा विजयी हुने आंकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्