बटुवा किचेपछि अरनिको राजमार्ग बन्द



मोतीराम तिमल्सिना, काभ्रे ।  अरनिको राजमार्ग स्थित बनेपा नगरपालिका वडा नम्वर १० जनागालमा  गाडी पल्टेर बटुवालाई  किचेपछि अरनिको राजमार्गको साँगा बनेपा खण्ड दिउसो २ बजेदेखि अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा सोहि राजमार्ग भएर गन्तब्य तर्फ हिँडेका यात्रुहरु अलपत्र परेका छन् ।  काठमाडौबाट मार्बल लिएर बनेपा तर्फ आउँदै गरेको बा १८ च ३११९ नम्वरको बोलेरो गाडी ओभरटेक गर्न लाग्दा राजमार्गमै पल्टिएको थियो । सडक किनारामा हिडिरहेका सोहि स्थानका अन्दाजी ६० बर्षिय बाबु विष्टलाई गाडीले किचेर घटनास्थलमै निधन भएपछि स्थानीयहरु आक्रोशित भएर राजमार्ग अवरुद्ध गरेका हुन् । विष्टलाई प्रहरीले तत्काल उपचारका लागि शिर मेमोरियल अस्पताल पु¥याए पनि उनको घटनास्थलमै निधन भएको आफन्तले बताएका छन् ।  विष्टका ८५ बर्षिय बृद्ध बाबु रणबहादुर विष्ट, श्रीमती, दुई छोरा र दुई छोरी छन् । घरमा रङ्ग लगाउने कार्य भईरहेकाले बाबु विष्ट रङ्ग खरिद गरेर घर फर्कने क्रममा आफ्नै घर अगाडी सडकमै दुर्घटनामा परेका थिए । स्थानीयहरुले पीडितलाई कडा कारवाही र सडकको फुटपाथ फराकिलो बनाउनु पर्ने माग गर्दै टायर बालेर प्रर्दशन गरिरहेका छन् । प्रर्दशनका कारण राजमार्ग अवरुद्ध भएको हो । अरनिको राजमार्गमा दैनिक जसो दुर्घटना भईरहेको छ । स्थानीयहरुले दुर्घटना न्युनिकरण गर्न प्रशासनले ध्यान नदिएको भन्दै आक्रोश पोखिरहेका छन् । मृतक भनिएका विष्टलाई बनेपाको शिर मेमोरियल अस्पतालमा राखिएको छ । गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्