रौतहट बम विस्फोटमा ८ घाइते



सञ्जय कार्की, रौतहट

अज्ञात समूहले राखेको बम बिस्फोट हुँदा चन्द्रनिगाहपुरमा ८ जना घाइते भएका छन्। रौतहटको चन्द्रपुर–५ स्थित राधाकृष्ण मन्दिरको हलमा वाम गठबन्धनको ५ नम्बर वडाभेला सम्पन्न भएर खाजा खान हलबाट बाहिरिने क्रममा बम विस्फोट भएको हो।

चन्द्रनिगाहपुरको धार्मिकस्थल राधाकृष्ण मन्दिरकै हलमा वाम गठबन्धनको भेला भएर बाहिरिने बेलामा वरको बोटनजिक बिस्फोट हुँदा ३१ वर्षीया सीता राई, ७ वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर विक, ४८ वर्षीया कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले घाइते भएका छन्।

घाइतेमध्ये सीता राई र जैविक राई आमाछोरा हुन्। यमुना काफ्ले र गोपाल विकको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको उपचारका लागि चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

घाइतेहरूको हात, खुट्टा, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ। घाइते सबै चन्द्रनिगाहपुरका बासिन्दा हुन्। भेलामा माओवादी र एमालेका केन्द्रीय नेता कल्याणी खड्का, युवराज भट्टराई समीरसमेत रहनुभएको थियो। उहाँहरू भेलालाई पहिले नै सम्बोधन गरेर हिँडिसक्नुभएको थियो। विस्फोट भएको बम टाइम बम हो या कुन बम हो?

खोजी भइरहेको जनाइएको छ। माओवादी केन्द्रका एकराज थापाले भन्नुभयो– ‘चुनावी विषयमा भेला बसिरहेको समयमा एकैपल्ट बिस्फोटको आवाज सुनियो आएर हेर्दा साथीहरू घाइते भइसक्नुभएको रहेछ।’ बम विस्फोटको जिम्मा कसैले पनि लिएका छैनन्। वाम गठबन्धनको भेला भएको पूर्वसूचनाका आधारमा त्यसक्षेत्रमा बम राखिएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्