दैलेख दुर्घटनामा ३ को मृत्य, १५ घाइते

0
Shares

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको बा ४ ख ५०१० नम्बर फोर्स गाडी शुक्रबार राति गुराँस गाउँपालिका वडा नम्बर ४ सियाकोटमा दुर्घटना हुदाँ वीरेन्द्रनगर–९ लाटीकोइलीका पारस तिवारी, दैलेख नौमुलेका जसी राना र रत्नबहादुर सिजालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिवारीको घटनास्थलमै र दुई जनाको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट एकसय ५० मिटर तल खसेको र गाडीमा १८ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सरोज पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा घाईते हुनेमा बुटवल–७ दीपनगरका विनोदकुमार अगहरी, नारायण नगरपालिका–१ का हेमा खड्का, वीरेन्द्रनगर–९ का गोविन्द तिवारी, दैलेख खरीगैरा–४ का खेमराज बुढा, बर्दिया पाताभारका नरेश थारु, सोही ठाउँका धर्म थारु, विनोद चौधारी, पशुराम चौधरी, दुल्लु नगरपालिका–८ दैलेखका सुरेश देवकोटा र दैलेख कालभैरवकै विमलबहादुर थापा छन् ।

घाइतेहरुको वीरेन्द्रनगरस्थित देउती नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् भने फरार रहेका चालकको खोजी कार्य जारी रहेको दैलेख प्रहरीले जनाएको छ ।