पूर्वराष्ट्रपति यादवलाई जनआन्दोलन स्वर्ण पदक प्रदान

0
Shares

नेपाल समाचारपत्र काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई जनआन्दोलन स्वर्ण पदकद्वारा सम्मान गर्नुभएको छ। गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले शुक्रबार राजधानीमा आयोजना गएको कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति यादवलाई स्वर्णपदकद्वारा सम्मान गर्नुभएको हो।

गणेशमान सिंहको १०३औं जन्मजयन्तीको अवसरमा शान्तिवाटिकामा आयोजित सो कार्यक्रममा सम्मान ग्रहण गर्दै डा. यादवले आफ्नो जिम्मेवारी बढेको बताउनुभएको थियो। जनआन्दोलनको गरिमाका बारेमा राम्रै जानकार रहेको बताउँदै पूर्वराष्ट्रपति यादवले जनआन्दोलन स्वर्णपदकबाट अझ बढी देशसेवामा लाग्ने प्रेरणा मिलेको बताउनुभएको थियो । कार्यक्रममा पूर्वराष्ट्रपतिलाई सम्मान गर्दै राष्ट्रपति भण्डारीले गणेशमान सिंहको योगदानको चर्चा गर्नुभएको थियो।

सोही कार्यक्रममा रक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेन प्रधानले भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रलाई १९९७ सालका शहीद धर्मभक्त माथेमाका नाममा नामकरण गर्न प्रस्ताव गर्नुभएको थियो। मन्त्री प्रधानले १९९७ सालका ४ शहीदमध्ये अन्य ३ शहीदका नाममा विभिन्न स्थान नामकरण भए पनि धर्मभक्तका नाममा केही पनि नभएकाले मानव प्रत्यारोपण केन्द्रलाई नामकरण गर्न प्रस्ताव गरेको भन्दै उहाँले अब बस्ने मन्त्रीपरिषद्को बैठकमा यो प्रस्ताव लैजाने जानकारी गराउनुभएको थियो।

सर्वमान्य नेता एवं २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहको १०३औं जन्मजयन्तीका अवसरमा शुक्रबार राजधानीमा विभिन्न कार्यक्रमहरू भएका थिए। बिहान शोभाभगवतीमा आयोजित कार्यक्रममा बोल्दै सिंहका छोरा एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूले मुलुकमा फेरि एकदलीय शासन ल्याउन खोजेको भन्दै कम्युनिस्टहरूले सोचेको साम्यवाद दिवा सपना मात्र भएको बताउनुभएको थियो।

नेता सिंहले बहुदलीय संसदीय व्यवस्थामा आइसकेका कम्युनिस्टहरू फेरि एकदलीय शासन व्यवस्था कायम गर्न वाम गठबन्धनका नाममा चुनावमा होमिएको भन्दै एमाले–माओवादीले साम्यवाद ल्याउने सपना देखेको बताउनुभएको थियो।