‘कांग्रेस गठबन्धनले जिते राजतन्त्र फर्किने खतरा छ’



डोटी । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए देशमा फेरी राजतन्त्र फर्कन सक्ने खतरा रहेको नेकपा मशालका महामन्त्री मोहन बिक्रम सिंहले बताउनु भएको छ ।

आगमी मंसिरमा सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको चुनावी कार्यक्रमका लागी डोटी पुग्नु भएका सिंहले नेपाली कांग्रेसभित्रकै ठुलो हिस्सा राजतन्त्र दोहो¥याउने पक्षमा रहेको र गठबन्धनका अन्य दलहरु राजतन्त्रको पक्षमा रहेका कारण फेरी राजतन्त्र दोहोरिने खतरा रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘कांग्रेस गठबन्धनले जित्यो भने तीनवटा खतरा छन ‘अहिलेको अवस्थामा कांग्रेस गठबन्धन जित्नु राष्ट्रियतामाथीको खतरा हो । कांग्रेसले बहुमत ल्याए मधेसबादी दलहरु र भारतसँग मिलेर संबिधान संसोधन गर्ने खतरा रहेको छ ।’

संविधानलाई भारतीय इच्छा अनुसार संसोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा कांग्रेस रहेका कारण आफुहरुले कांग्रेस गठबन्धनसँग चुनावी तालमेल नगरेको सिंहले बताउनु भएको छ । सिँहले भन्नुभयो, ‘कांग्रेस नेपाललाई फेरी हिन्दु राष्ट्र बनाउने र हिन्दु राष्ट्रको संरक्षकका रुपमा हिन्दु राजा फर्काउने दाउमा छ ।’

‘कांग्रेस बिपी कांग्रेस रहेन, न त यो गिरिजा कांग्रेस रह्यो, न गणेशमान कांग्रेस रह्यो’ उहाँले थप्नुभयो,‘यो शेरवहादुर कांग्रेस मात्रै रह्यो ।’ कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रियता र राजनीतिक चरित्र नरहेको सिंहले आरोप लगाउनु भयो । उहाँले थप्नुभयो, ‘उनी व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न सक्छन भन्ने पुष्टि भइसकेको छ ।’

उहाँले प्रश्न गर्नुभयो ‘गिरिजाप्रसाद कोईरालासंग समेत बिद्रोह गरेर दरवार पस्ने मान्छेसँग के अपेक्षा गर्न सकिन्छ ?’ अहिलेको अवस्थामा वाम गठबन्धनबाट राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने भएका कारण आफुहरुको समर्थन बाम गठबन्धनलाई रहेको सिंहले बताउनु भएको छ । ‘अहिले राष्ट्रियता गम्भिर खतरामा परेको छ’ सञ्चारकर्मीहरुद्वारा सोधिएको प्रश्नको जवाफमा सिंहले भने ‘त्यसकारण वाम गठबन्धनलाई हामीले नैतिक समर्थन गरेका छौं ।’

एमाले–माओवादीहरु माक्र्सबाद, लेनीनबाद र माओ बिचारधाराबाट बिचलित भईसकेका कारण उनीहरु कम्युनिष्ट नरहेको सिंहको भनाई छ । उहाँले थप्नुभयो ‘चरित्रका हिसाबले यि दुई पार्टी एउटै भएका कारण यिनीहरुबीच एकता भए राम्रो हुन्छ ।’ उहाँले वर्तमान बाम गठबन्धनसँग आफ्नो पार्टी एकता हुने सम्भावना नरहेको जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्