त्रिपुरेश्वरस्थित मोटर ग्यारेजमा आगलागी, एकजनाको मृत्यु



काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरसँगै रहेको ग्यारेजमा बिहीबार साँझ आगलागी भएको छ । वर्ल्ड ट्रेड सेन्टरसँगै रहेको आयल स्टोरसँगैको ग्यारेजमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ ।

आगलागीमा परेर ज्यान गुमाउने कलैया बाराका २५ वर्षीय मुलायन मियाँ रहेका छन् । यो घटनामा अन्य दुर्इजना घाइते भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

घाइते भएका दुर्इजनाको अहिले वीर अस्पतालमा उपचारका लागि लगिएको छ। आगलागी के कारणले भयो भन्ने कुरा पनि खुल्न नसकेको स्टोरका सञ्चालक राजकुमार महर्जनले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिबारे विस्तृत जानकारी नआइसकेको उनले बताएका छन् । आगलागी नियन्त्रण भइसकेको प्रहरीले जनाएको छ । आगलागी भएपछि घटनास्थलमा प्रहरी र सेनाको टोली पुगेको थियो ।

आगलागीपछि बन्द गरिएको सडक पनि खुलाइएको छ । समयमै दमकल पुग्न सकेकाले आगो नियन्त्रणमा आएर सवारी सुचारू भएको हो ।

प्रतिक्रिया दिनुहोस्