डा.पुकार अमेरिकामा सम्मानित



 

नेपाल समाचारपत्र
काठमाडौं
मानव अंग प्रत्यारोपणका क्षेत्रमा उदयमान चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठलाई अमेरिकास्थित टेक्सासमा लायन्स क्लब अफ एभरेस्ट ड्यालसले कलेजो प्रत्यारोपणका क्षेत्रमा नेपालमा रहेर महत्त्वपूर्ण योगदान पुर्याएकोमा सम्मान गरेको जनाएको छ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक तथा आरोग्य फाउन्डेसनका महासचिवसमेत रहनुभएका डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो तथा मृगौला प्रत्यारोपणका क्षेत्रमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो। उहाँलाई प्रदान गरिएको सम्मानपत्रमा आगामी दिनमा नेपालको अंग प्रत्यारोपणका क्षेत्रमा सहकार्य गर्ने एभरेस्ट लाइन्स ड्यालसले उल्लेख गरेको छ।

एभरेस्ट लाइन्स क्लब ड्यालसले नेपालीहरूको उपस्थितिमा बृहत कार्यक्रमको आयोजना गरी नेपालको अंग प्रत्यारोपणको अवस्थाका बारेमा समेत जानकारी लिई डा. श्रेष्ठलाई क्लबका अध्यक्ष वीएन पन्तले एक समारोहका बीच सम्मान गर्नुभएको थियो। सन् २००३ मा अमेरिकामा स्थापना भएको लाइन्स एभरेस्टले समाजिक र मानव स्वास्थ्यका विषयमा काम गर्दै आएको जनाएको छ।

डा.श्रेष्ठले अंग प्रत्यारोपण केन्द्र भक्तपुरले नेपालका बिरामी मात्र नभइ अन्तर्राष्ट्रका बिरामीहरूको समेत अंग प्रत्यारोपण नेपालमा भइरहेको जानकारी गराउनुभएको थियो। सम्मान कार्यक्रममा ड्यालसको सोसियल वर्कर फोरमका प्रभात दिक्षित, लायन्स एभरेस्टका इरा आचार्य, नेपाल कम्युनिटी अफ ड्यालस (एनएसटी) का अध्यक्ष कृष्ण लामिछानेलगायतका व्यक्तित्वहरूको विशेष पहलमा कार्यक्रमको आयोजना गरी डा. श्रेष्ठलाई सम्मान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्