बागदरबार भत्काएर नयाँ भवन



 

ईश्वरराज ढकाल, काठमाडौं
कार्यालय भवन बनाउने विषयमा काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागबीच कुनै पनि विवाद नरहेको र महानगरले तत्कालीन बागदरबार पुनर्निर्माण ढाँचा स्वीकृत गरिनसकेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ।

‘अहिले सबैले बागदरबार भनिरहेको भवन हरिभवन हो। यो विसं १९९० सालभन्दा पछि निर्माण भएको हो। यस भवनमा पुरातात्त्विक वस्तु राखिएका छैनन्। पुनर्निर्माणका क्रममा फेला परे हामी पुरातत्त्व विभागसँग समन्वय गरेर संरक्षण गर्छौं।’ –प्रमुख शाक्यले जानकारी दिनुभयो।

उहाँले भवनको पुनर्निर्माण पुरातात्त्विक आधारमै गर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘विभागसँग हाम्रो कुनै विवाद छैन पुरानै संरचनाको आधारमा पुनर्निर्माण गर्नेछौं।’ कामपाले भवन भत्काउन टेन्डर आह्वान गरी प्रक्रिया थालिसकेको छ। सरकारले पुरानो दरबार रेक्ट्रोफिट गर्ने तयारी गरेको अवस्थामा कामपाले सो भवन भत्काउन लागेको हो।

२०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारमा राजस्व विभाग, शहरी विकास विभागबाहेक काठमाडौं महानगरपालिका कार्यालय राष्ट्रिय सभागृहमा सरेको थियो। हाल ती कार्यालयमध्ये अधिकांश पुरानै भवनमा सञ्चालन भइसकेको छ। कामपाले सामान्य अध्ययन गरी स्थान अभावका कारण करिब एक दर्जन कार्यालय बागदरबारबाटै सञ्चालन गरिरहेको छ।

सभागृह कार्यालय सञ्चालनका लागि नभई सार्वजनिक कार्यक्रमका लागि हो, त्यसैले सभागृहबाट कार्यालय सार्नू भनेर निर्देशन दिइसकेपछि महानगर बागदरबारसँगै जोडिएको जेडीए कम्प्लेक्सको पाँचौं तल्लाका केही भाग र छैटौं तल्लाका केही भाग भाडामा लिएर सरेको थियो।

२०७४ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित मेयर र उपमेयरले त्यही भाडाको कार्यालयमा पदबहाली गर्नुभएको थियो भने नगरकार्यपालिकाको पहिलो बैठक पनि त्यही कम्प्लेक्सबाट सञ्चालन भएको थियो।

जननिर्वाचित पदाधिकारीले भाडाको घरमा पदबहाली गर्नुपरेको थियो। यो विषयले नवनिर्वाचितको पदाधिकारीको मन छोएपछि नयाँ भवन निर्माणको तयारी गरिएको हो। त्यही कारण २०७४ जेठ १७ गते पदबहाली गरेका दिन बसेको पहिलो कार्यपालिका बैठकले दरबार पुनर्निर्माण गर्ने निर्णय गरिएको थियो।

काठमाडौं महानगरपालिका बसेको दरबार पुनर्निर्माणका विषयमा विषयगत निकायबीच मतान्तर भएपछि भवनको जोखिम मूल्यांकन र सबलीकरण सम्भावनाका विषयमा नियुक्त गरिएको परामर्शदाताले महानगरमा पेस गरेको प्रतिवेदनमा हालको बागदरबार विसं १९९२ सालमा पुनर्निर्माण भएको विषय उल्लेख गरेको छ।

भवन भत्काउन लागेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित हुन थालेपछि मेयर शाक्यले पत्रकार सम्मेलन गरी पुरानै ढाँचामा संरचना निर्माण गर्न लागेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामी सधैं भाडामा बस्ने अवस्था हटाउन नयाँ डिजाइनमा भवन बनाउन लागेका हौं।’ विसं २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले काठमाडौं महानगरपालिकाको स्वामित्त्वमा रहने गरी वागदरबार हस्तान्तरण गरेको थियो। त्यसलगत्तै चैत्र २७ गतेदेखि महानगरका कामकाज त्यसै दरबारबाट नियमित शुरू गरिएको थियो।

काठमाडौं महानगरको निर्माण विभागका सिभिल इन्जिनियर प्रेमबहादुर श्रेष्ठले अहिलेको भवनको ढाँचा तयार पार्नुभएको हो। ढाँचामा मल्लकालीन शैली, तत्कालीन बागदरबारको स्वरूपमा नेपाल मण्डलका सांस्कृतिक पक्षको संयोजन र आधुनिक तीनै प्रकारका शैली राखिएका छन्। यसमा पाटी, ढुंगेधारा, परम्परागत चोक निर्माण गरिने छ। साविकको भवन मोहडाको पहिलो भागलाई ३ तला, लिच्छविकालीन शैलीको दोस्रो भागलाई साढे ६ तलामा र आधुनिक शैलीको तेस्रो मोहडालाई १५ तलामा प्रस्ताव गरिएको छ।

आधुनिक शैलीको मोहडाबाट हिमालयको दृश्यावलोकन गर्न सकिने, भ्यु टावरका रूपमा विकास गरिने ढाँचामा उल्लेख छ। प्रचलित मापदण्डको परिधिमा रही भूमिगत तलासहित २ लाख वर्गफुटमा निर्माण हुने भवनमा संग्रहालय र पार्किङ व्यवस्थालाई पनि समेटिएको छ। यस भवनको लागत १ अर्ब ५० करोड रुपियाँमा निर्माण गरिने प्रस्ताव अघि बढाइएको छ। सो भवन निर्माण अवधि ४२ महिना अनुमान गरिएको कामपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्