सकियो छठ



 

कृष्णउदास खनाल, वीरगन्ज
शुक्रबार पूर्वको आकाशबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने महा अनुष्ठानको पर्व छठ सकिएको छ। बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न भएको हो।

तराईबासीको मुख्य पर्व छठका लागि झिलिमिली पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरू बिहान उज्यालो नहुँदै पुगेका थिए। सूर्य देवको दर्शनका लागि एक टक लगाएर आकाशतर्फ नजर लगाएर बसेका उनीहरू सूर्य आगमनको छनक पाएपछि अर्घ दिएर घर फर्किएका छन्।

बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो। कात्तिक शुक्ल षष्ठीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ। सँझिया घाटे भनिने यस दिनलाई मुख्य दिनका रूपमा हेरिन्छ। छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराई तथा काठमाडौं उपत्यका र केही पहाडी क्षेत्रमा पनि उल्लासका साथ मनाउने गरिन्छ।

विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि तीन दिन अघिदेखि नै नदी, पोखरी तथा जलाशयहरू सिँगारेर झकिझकाउ पारिएको थियो। छठपूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ।

यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखुलगायतका फुलफूल पनि सूर्य भगवान् र छठी चढाइने गरिन्छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ र सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रहिआएको छ।

वीरगन्जको घडिअर्वा पोखरी, स्वीमिङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैनालगायत ग्रामीण क्षेत्रका पोखरी तलाउहरूमा छठका विशेष रौनक देखिन गरेको छ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्व मंगलबारदेखि विधिवत् रूपमा शुरू भएको थियो।

प्रतिक्रिया दिनुहोस्