सञ्चारमन्त्री बस्नेतलाई सकस, वाम गठबन्धन १८ हजार मतले अगाडि



 

नानीराम नेपाल, सिन्धुपाल्चोक
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार दलहरूले उम्मेदवारी दर्ता गरे। दलहरूको उम्मेदवारी दर्तासँगै प्रतिनिधिसभा १ नम्बर निर्वाचन क्षेत्रमा रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ।

लोकतान्त्रिक गठबन्धनबाट सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र वाम गठबन्धनबाट पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा सदस्यका लागि आमने–सामने भएका छन्।

पार्टी एकता नै गर्ने सहमतिसहित दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रले साझा उम्मेदवारी दिएपछि सिन्धुपाल्चोकमा वाम गठबन्धनको जित सहज देखिएको छ। पछिल्लोपटक सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम र दुई ठूला वाम शक्ति तालमेल हुँदाको अवस्थामा जिल्लाभर नै नेपाली कांग्रेस वाम गठबन्धनभन्दा हजारौं मतले पछाडि देखिएको छ।

वाम तालमेलले संविधानसभा निर्वाचन २०७० मा झिनो मतान्तरले विजयी भएका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई यसपटक प्रतिनिधिसभामा प्रवेश गर्न कठिन नै छ। कमजोर बनिरहेको पार्टी संगठन र अर्कातिर वाम तालमेलका बीच बस्नेतलाई यसपटक प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा जित्नुभनेको फलामका चिउरा चपाउनुसरह नै देखिएको छ।

१ नम्बर क्षेत्रमा वाम गठबन्धन नेपाली कांग्रेसभन्दा झण्डै २० हजार मतले अगाडि देखिएको छ। नेपाली कांग्रेसको जनाधार भएका बाह्रबीसे नगरपालिका र भोटेकोसी गाउँपालिकामै दुई वाम मिल्दा कांग्रेस धेरै मतले पछाडि देखिन्छ। स्थानीय तह निर्वाचनमा बाह्रबीसे नगरपालिकामा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मतकै आधारमा हेर्ने हो भने यस नगरपालिकामा कांग्रेसको भन्दा ३ हजार ५ सय मतले वाम गठबन्धन अगाडि देखिन्छ।

भोटेकोसीमा पनि गठबन्धन कांगे्रसभन्दा २ हजार ९६ मतले अगाडि देखिन्छ। स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको सुनकोसी गाउँपालिकामा दुई वाम मिलेको अवस्थामा कांगेस १ हजार २ सय ४४ मतले पछाडि छ। त्रिपुरासुन्दरी गाउँपालिकामा गठबन्धनभन्दा १ हजार ८ सय मतले कांग्रेस पछाडि देखिन्छ भने लिसंखुपाखरमा गठबन्धन र कांग्रेसबीच ३ हजार ३ सयको मतान्तर देखिन्छ। बलेफी गाउँपालिकामा गठबन्धन नेपाली कांग्रेसभन्दा झण्डै ४ हजार मतान्तरले अगाडि छ भने जुगल गाउँपालिकामा २ हजार ७ सय मतले गठबन्धन अगाडि देखिन्छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा परेका चौतारा साँगाचोक गढी नगरपालिकाका वडामा पनि कांग्रेस कमजोर नै देखिन्छ। साविकका कुविण्डे, बतासे, साँगाचोक र कदमवासमा कांग्रेसभन्दा वाम गठबन्धन २ हजारभन्दा बढी मतले अगाडि देखिन्छ।
स्थानीय तह निर्वाचनमा कांग्रेस परित्याग गरी जिल्ला कार्यसमिति सदस्य बुद्धराज बस्नेत माओवादी केन्द्रमा प्रवेश गरे अनि बाह्रबीसे नगरपालिकामा अध्यक्षको उमेदवार बने। २ सय मतान्तरले कांग्रेसले पराजय व्यहोरेको यो नगरमा कांगे्रस गढ भत्कनुमा बुद्धराजको ‘बहिर्गमन’ नै मुख्य कारण मान्न सकिन्छ।

तीन दशकभन्दा लामो कांगे्रस राजनीतिबाट कांगे्रस नेता एवं तातोपानी गाविसका अध्यक्ष अमृतकुमार खड्काले पार्टी परित्याग गरे। उनीसँगै कांग्रेस भातृ संगठन तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका सिन्धु कांग्रेसमा प्रभावशाली मानिने दोर्जे लामाले पार्टी छाडे। उनीहरू दुवै जना डेढ महिनाअघि नेकपा एमालेमा प्रवेश गरिसकेका छन्। पुराना नेता–कार्यकर्ताको शृंखलाबद्ध बहिर्गमन र वाम तालमेलका अगाडि १२ वर्षपछि संसद्मा पुनरागमन गरेर सरकारका प्रवक्तासमेत बनेका मन्त्री बस्नेतलाई यसपटक मुश्किल देखिएको हो।

प्रतिक्रिया दिनुहोस्