दोलखामा चुनावी अभियान शुरू



 

चिरञ्जीवी मास्के, दोलखा
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्तापछि एमाले र माओवादी केन्द्र गठबन्धन दोलखामा चुनावी रणनीति बनाउन सक्रिय बनेको छ।

सोमबार एमाले र माओवादी केन्द्रको संयुक्त बैठकले एमाले अध्यक्ष ईश्वरचन्द्र पोखरेलको संयोजकत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिको सहसंयोजकमा माओवादी केन्द्रका नेता गोपाल पाण्डे रहनुभएको छ। समितिमा एमालेको तर्फबाट नरबहादुर श्रेष्ठ, भरत दुलाल, डबल पाण्डे, भरत केसी र गोपाल न्यौपाने रहेका छन् भने माओवादी केन्द्रको तर्फबाट कुलबहादुर बुढाथोकी, पर्शुराम रिमाल, रीता रिमाल र सन्तोष फुयाल रहेका छन्। संयुक्त बैठकले १३ सदस्यीय निर्वाचन परिचालन निर्देशक समितिसमेत गठन गरेको छ।

समितिमा एमालेको तर्फबाट पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, नेता आनन्द पोखरेल, केन्द्रीय सदस्य पार्वत गुरुङ, केन्द्रीय अनुशासन आयोगका सदस्य शिवप्रसाद भण्डारी, वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का र जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल रहनुभएको छ भने माओवादी केन्द्रबाट पोलिटब्युरो सदस्य गंगा कार्की, केन्द्रीय सदस्य देवी खड्का, शङ्कर लामा, हेमबहादुर श्रेष्ठ, नरबहादुर पाख्रिन, विशाल खड्का र गोपाल पाण्डे रहनुभएको छ। नेकपा एमालेले आगामी कात्तिक ११ गते जिल्लास्तरीय कार्यकर्ता भेला गरेर गाउँतहमा चुनावी अभियान शुरू गर्ने योजना बनाएको छ।

२०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको स्थानीय तहको निर्वाचन परिणामअनुसार दोलखामा एमाले पहिलो शक्तिको रूपमा रहेको छ भने नेपाली कांग्रेस दोस्रो शक्ति र माओवादी केन्द्र तेस्रो शक्ति रहेको छ।

प्रतिक्रिया दिनुहोस्