प्रमुख नेता प्रत्यक्ष निर्वाचनमा उठाउने एमालेको तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।

सकभर पार्टीका सबै शीर्ष नेताहरु प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न जोड दिने निर्णय एमाले स्थायी समितिको बैठकले गरेको छ । बरिष्ठ नेता माधव नेपालका अनुसार शीर्ष नेताहरु नै प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दा पार्टीको पक्षमा माहोल सिर्जना हुने विश्लेषण गर्दै एमाले स्थायी समितिले यस्तो निर्णय गरेको हो ।

मंगलबार दिउसो सिंहदरवारस्थित संसदीय दलको बैठकमा भएको बैठकमा कुन कुन नेताहरु प्रत्यक्षतर्फका उम्मेदवार हुने भन्ने विषयमा छलफल भएको थियो। जस अनुसार अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, उपाध्यक्षत्रय बामदेव गौतम, अष्टलक्ष्मी शाक्य र भीम रावल प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने विषयमा छलफल भएको छ।

यसैगरी उपमहासचिव विष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, संसदीय दलका उपनेता लगायतका नेतालाई पनि प्रत्यक्षतर्फबाट नै प्रतिस्पर्धा गराउने निर्णय नेताहरुले गरेका छन्। स्रोतका अनुसार, एमालेले स्थायी समिति सदस्यहरु पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङलाई प्रत्यक्ष–समानुपातिक वा प्रदेश सभा कि प्रतिनिधि सभामा प्रतिस्पर्धा गराउने भन्ने यकिन गर्न सकेको छैन।

मंगलवारको बैठकमा एमाले–माओवादी केन्द्र–नयाँशक्तिबीचको चुनावी तालमेलबारे पनि छलफल भएको थियो। नेता नेपालका अनुसार यस सम्बन्धमा तीन दल सम्मिलित कार्यदलले प्रतिवेदन दिएपछि निर्णय गर्ने निर्णय भएको छ।