४४ बर्षपछि जनताको माग पुरा: सदरमुकाम माग्न गरिएको संघर्षले जिल्ला प्राप्त !

0
Shares

धनवीर दाहाल, रुकुमकोट (पुर्वी रुकुम) ।
सिस्ने गाँउपालिका ४ रुकुमकोट पुर्वी रुकुमकी ५४ बर्षिया दिलकुमारी मल्ल १० बर्षकी हुँदा आफ्नो ठाँउमा भएको रुकुम जिल्लाको सदरमुकाम खोसेर मुसिकोट लगिएको थियो । आफ्नै ठाँउमा भएको सदरमुकाम खोसेर रातारात लैंजादा दिलकुमारी मात्र होइन रुकुम पुर्व क्षेत्रका बासिन्दा अत्यन्तै दुखी भएका थिए । मुसिकोटमा लगिएको सदरमुकाम रुकुमकोटमै फिर्ता ल्याउनको लागी ठुलो दलबल सहित स्थानीयको टोली मुसिकोट पुग्यो तर पनि उल्टै प्रहरीको गोली चलेर एक जनाको ज्यान गयो कयौं घाइते भए सदरमुकाम फर्किएन ।

आज दिलकुमारी जस्तै पुर्वी रुकुमका बासिन्दामा खुसीयाली छाएको छ । ४४ बर्षपछि आफ्नो माग पुरा भएको भन्दै पुर्वी रुकुमका बासिन्दाले साँच्चीकै सिंह दरवार गाँउ आएको अनुभुति गरेका छन् । रुकुमकोटका स्थानीय मोहन के.सीले भने “जनताको माग बल्ल पुरा भएको छ । लामो संघर्षपछि हाम्रो माग पुरा भएको छ अव यसलाई समृद्ध बनाउनुपर्छ ।” स्थानीय तारक शाह पनि रुकुमको पिछडीयको क्षेत्रलाई माथी उकास्न निकै संघर्ष गरेको बताउँछन् । उनले अव साँच्चीकै अव पुर्वी रुकुमलाई नमुना जिल्ला बनाउनुपर्नेमा जोड दिए ।

यस्तै स्थानीय नन्दलाल शर्मा पनि पुर्वी रुकुमलाई देशकै नमुना जिल्ला बनाउन आफु कहाँ कसरी लाग्नुपर्छ त्यसरी लाग्ने बताउँछन् । सदरमुकामको लागी गरिएको संघर्षले जिल्ला पाइएपछि पुर्वी रुकुमबासी खुसी हुनु स्वभाविक थियो । रुकुमलाई बिभाजन गरिएको भनि बर्तमान गृहमन्त्री जनार्दन शर्माले बिखण्डनकारीको आरोप पनि लगाइमागे तर अन्तीममा आएर रुकुम जिल्ला बिभाजन नभई बिस्तार भएको भनि उनले बुझाएपछि उनले गरेको कामको यतिबेला चौतर्फी सहयोग भइरहेको छ । बिहिवार मात्र गृहमन्त्री शर्माले पुर्वी रुकुम जिल्ला औपचारिक रुपमा उद्घाटन गरे । गृहमन्त्री सँगै गृहराज्य मन्त्री तथा सिंगो गृहमन्त्रालय मातहातको निकायका प्रमुखहरु रुकुमकोटमा सहभागी भएर पुर्वी रुकुमबासीको खुसीयालीसँगै खुसी साटे ।

उनीहरुले खुसी मात्र साटेनन् पुर्वी रुकुमलाई नमुना जिल्ला बनाउन आ आफ्नो तर्फबाट काम गर्न प्रतिबद्धतता जनाए । उनीहरुको प्रतिबद्धता कार्यान्वयन होस भनि स्थानीयले अनुरोध गरेका थिए । नयाँ जिल्ला पूर्वि रुकुमको प्रस्तावित सदरमुकाम रुकुमकोटमा बिहिबार बिभिन्न सरकारी कार्यालयहरुको उद्घाटन गर्दै मन्त्री शर्माले जनताको माग अनुसार नै रुकुम २ जिल्लामा विस्तार भएको जानकारी दिनुहुँदै रुकुमलाई २ जिल्लामा विस्तार गर्दा आफुलाई केहीले विखण्डनवादी भनेर आरोप लगाएको स्मरण गरे । मन्त्री शर्माले आफु जनताको चाहनामा अडिग भएर लागेका कारण आज पूर्वि रुकुम जिल्ला बन्न सम्भव भएको बताए । सिंगो रुकुम हुँदा सुरु भएको एकीकृत विकास योजना अब दुवै जिल्लामा समान रुपमा संचालन गरिने पनि बताए ।

पुर्वमन्त्री गणेशमान पुनले संघियताको उपलब्धी भएको बताए । उनले बर्षाैंको संघर्ष अहिले आएर उपलब्धीमा परिणत भएको बताए । गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले पुर्वी रुकुमको लागी आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । पुर्व मन्त्री दलजित श्रीपालीले जनताको माग अनुसार जिल्ला पाइएको बताए । गृह सचिव लोकदर्शन रेग्मीले पुर्वी रुकुमको लागी मन्त्रालयबाट गर्नुपर्ने काम गर्ने जानकारी दिए । सामान्य मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख दिलिपराज रेग्मी लगाएत गृह मन्त्रालय मातहतका उच्च व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

पुर्वी रुकुममा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिती, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, अनुसन्धान कार्यालय लगाएतका कार्यालय सुचारु भएका छन् । जिल्ला समन्वय समिती पुर्वी रुकुमका संयोजक गञ्जबहादुर ओली कैलाशले नियमित सरकारी काम सुरु भएको बताए । यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले पनि जिल्ला प्रशासन कार्यालयबाट हुने सबै काम सुचारु भएको बताए । आफुहरुले छुट्टै जिल्ला पाएपछि स्थानीयले खुसीयाली सहितका झाँकी तथा नाच प्रर्दशन गरेका थिए ।