भेरी–बबईमा सुरुङ खन्ने मेसिन जडान

0
Shares

विष्णु तिमिल्सिना, बर्दिया
भेरी नदीको पानी बबई नदीमा खसालेर बबई नदीमा पानिको मात्रा वृद्धि गरी बर्दिया र बाँके जिल्लाको भूमि सिञ्चित गराउने मुख्य उद्देश्य राखी निर्माणाधीन राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्नका लागि अत्याधुनिक प्रविधियुक्त २ सय ४८ मिटर लामो टनेल बोरिङ मेसिन जडान कार्यको शुभारम्भ सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले गर्नुभयो।

उक्त मेसिनले प्रतिदिन १५÷२० मिटर सुरुङ खन्नेछ। जम्मा १२ किलोमिटर सुरुङ खन्ने कार्यका लागि दुई वर्ष लाग्ने कुरा सो आयोजनाका कार्यकारी निर्देशक शिवकुमार बस्नेतले जानकारी गराउनुभयो।

शिवालिक पर्वत (चुरे पहाड) क्षेत्रमा यस प्रकारको मेसिनद्वारा सुरुङ खन्ने कार्य नेपालमा पहिलो र संसारमा दोस्रो हो, यसअघि पाकिस्तानको झेलम नदी क्षेत्रमा चुरे पहाडमा मेसिनद्वारा सुरुङ खन्ने कार्य भएको हो।

चालकरहित र कम्प्युटरबाट सञ्चालित हुने उक्त मेसिनजडान गर्न करिब दुई महिना लाग्नेछ यसअघि २ सय ४८ मिटर लामो उक्त मेसिन जडान गर्न सुरुङ खन्ने कार्य कामदारहरूले गरेका थिए।

सुरुङ खन्ने कार्य सम्पन्न भएपछि बर्दिया र बाँके जिल्लाको करिब ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनेछ। हाल बबई नदीको पश्चिम खण्डमा १० हजार र पूर्वीखण्डमा १५ हजार गरी जम्मा २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ, बबई सिँचाइ आयोजना सम्पन्न हुँदासम्म ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ।

महेन्द्र राजमार्ग क्षेत्रभन्दा उत्तरतर्फको बर्दिया जिल्लाको ६ हजार हेक्टर र बाँके जिल्लाको ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनका लागि भने छुट्टै पद्धतिबाट काम गर्नुपर्ने देखिएको कुरा बबई सिँचाइ आयोजनाका सबडिभिजन इन्जिनियर रामबहादुर थापाले बताउनुभयो। हाल हिउँदमा पानीको मात्रा कम हुँदा कृषकलाई सिँचाइको असुविधाजनक अवस्था छ।

२०७१ माघदेखि शुरू गरी २०७५ फागुनसम्ममा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए तापनि उक्त समयावधिभित्र कार्यसम्पन्न हुन नसक्ने अवस्था रहेको छ।

साथै सो आयोजनाअन्तर्गत जम्मा १५ मिटर अग्लो बाँधको निर्माण गरिनेछ, जसबाट प्रतिसेकेन्ड ४० क्युबसेक पानी भेरीबाट बबई नदीमा खसाल्ने लक्ष्य छ। तेस्रो लक्ष्य ४८ मेघावाट विद्युत् उत्पादन गर्ने रहेको छ।