फोरम–राजपा मात्रै चुनावमा जाने तयारी

0
Shares

बीपी साह, काठमाडौं ।
नेपाली कांग्रेससहितको ६ दलीय गठबन्धनमा सिट बाँडफाँडको विषयमा विवाद उत्पन्न भएपछि कार्यदलको बैठकसमेत बस्न सकेन।

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले माग गरेको सिटको विषयमा छलफल जारी छ। हामीले प्रस्ताव गरेको विषयमा कांग्रेसको तर्फबाट प्रतिक्रिया नआउँदा सोमबार बैठक बस्न सकेन।’ शुक्लाले कांग्रेसभित्रै विवाद देखिएको बताउँदै सिट बाँडफाँडमा समस्या देखिएको जानकारी दिनुभयो। उहाँले कांग्रेसको आधिकारिक धारणा आएको खण्डमा मात्र छलफल अगाडि बढ्न सक्ने बताउनुभयो।

यता राजपा र संघीय समाजवादी फोरम नेपालका नेताले आफूहरूले माग गरेबमोजिमको सिट नपाए दुई दल मात्रै मिलेर चुनाव लड्ने तयारी गरेको बताएका छन्।

फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले माग गरेबमोजिमको सिट नदिइए राजपा र फोरम नेपाल मिलेर निर्वाचनमा जान्छौं। हामीले गठबन्धनमा माग गरेको सिट
जायज हो।’

‘पछिल्लो मत परिणामअनुसार मधेसमा राजपा र फोरम नेपालले ७० देखि ८० प्रतिशत मत पाएका छन्। सोही आधारमा हामीले ७० देखि ८० प्रतिशत सिट पाउनुपर्छ’, श्रेष्ठले भन्नुभयो– ‘कांग्रेससँग कुरा नमिले पनि हामी दुई दल निर्वाचनमा जान तयार छौं।’
यता राजपाका महासचिव केशव झाले पनि कांग्रेसले सिट बाँडफाँडमा आनाकानी गरे आफूहरू मात्र निर्वाचनमा जान सक्ने बताउनुभयो। ‘राजपा र फोरम नेपाल निर्वाचनमा जान तयार छ। हामीले आफ्नो हैसियतअनुसार सिटको माग गरेका छौं। उहाँहरूले दिन मान्नुभएन भने हामी दुई पार्टी निर्वाचनमा होमिने छौं’ –उहाँले भन्नुभयो।

आइतबार राजपा र फोरमले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ सय ६५ मध्ये ५५ सिट र प्रदेशसभाको ३ सय ३० मध्ये १ सय ३१ सिटको माग गरेको छ।

गठबन्धन होइन, तालमेल मात्र ः यादव

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले नेपाली कांग्रेससँग आफूहरूको गठबन्धन नहुने बताउनुभएको छ। यादवले कांग्रेससँग तालमेल मात्रै हुने बताउनुभयो।

राजधानीमा आयोजित एक कार्यक्रममा यादवले कांग्रेस मधेसी जनताको भावनाको कदर नगरेकाले गठबन्धन हुन नसक्ने प्रस्ट पार्नुभयो। उहाँले ६ दलीय लोकतान्त्रिक गठबन्धनमा विभिन्न आस्थाका दल भएकाले त्यस गठबन्धनमा आफूहरू बस्न नसक्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कांग्रेसलगायत अन्यदलसँग चाहिँ हामी निर्वाचनमा मात्रै तालमेल गर्छौं, कसरी चुनाव जित्न सकिन्छ त्यतातिर ध्यान दिएका छौं, गठबन्धन नै बनेर हामी अघि बढ्दैनौं।’