काठमाडौं, (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सरकारमा सहभागी हुने भएको छ। सरकारमा रहेर पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई हटाउने चर्चा चलिरहेका बेला राप्रपाले सरकारमा सहभागिता जनाउन खोजेको हो।
सरकारमा सहभागी हुने उद्देश्यले राप्रपाको सोमबार बसेको कार्यसम्पादन समिति बैठकले कांग्रेस सभापतिसमेत रहेका देउवाको नेतृत्वमा गठित वर्तमान सरकारलाई समर्थन दिने निर्णय गर्दै यसबारेमा सोमबार नै संसद् सचिवालय र नेपाली कांग्रेसलाई जानकारी दिएको छ।
तर, सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले प्रजातान्त्रिक गठबन्धन निर्माणका लागि सरकारलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘प्रजातान्त्रिक गठबन्धनको प्रारम्भ गरेका हौं, दीर्घकालीन हिसाबले गठबन्धन बनाउन पहल अघि बढ्नेछ।’
राप्रपाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलसँग पार्टी एकता र चुनावमा सहकार्य गर्ने निर्णय गरेपश्चात् सरकार अल्पमतमा पर्न सक्ने, राजनीतिक अस्थिरता खडा हुने तथा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नै धरापमा पर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै चुनावको सुनिश्चतताका निमित्त देउवा नेतृत्वको सरकारलाई समर्थन दिएको जनाएको छ।
देउवाले राप्रपा अध्यक्ष थापालाई उपप्रधान एवं गृह मन्त्रालय दिने तयारी गरेको बताइएको छ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कार्य योजना पारित गर्दै केन्द्रीय निर्वाचन परिचालन समिति, आर्थिक समिति, प्रशिक्षण समिति, घोषणापत्र तयारी समितिलगायत विभिन्न समिति पनि गठन गरेको थियो।











प्रतिक्रिया