मधेसवादी दलको अग्रता कायमै, ३३ स्थानीय तहको मतपरिणाम सार्वजनिक



सुनील महर्जन, काठमाडौं

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा हालसम्मको मतगणनाअनुसार मधेसवादी दलको अग्रता कायमै रहेको छ। प्रदेश नम्बर २ मा मतगणना भइरहेको १ सय ३५ स्थानीय तहमध्ये बिहीबारसम्ममा ३० स्थानीय तहको मतपरिणाम आएको छ।

मतपरिणाममध्ये मधेसवादी दल राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी र लोकतान्त्रिक फोरमले ११ वटा स्थानीय तहमा विजयी हासिल गरेका छन्।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रमुख एवम् अध्यक्षमा १० वटा स्थानीय तहमा नेपाली कांग्रेस, ६ वटामा राष्ट्रिय जनता पार्टी, ५ वटामा नेकपा माओवादी, ४ वटामा नेकपा एमाले, ३ वटामा संघीय समाजवादी फोरम र २ वटा स्थानीय तहमा लोकतान्त्रिक फोरम विजयी भएका छन्।

आयोगका अनुसार नेपाली कांग्रेसबाट धनुषाको औरही गाउँपालिकामा ब्रह्मदेव यादवले २ हजार ५ सय ६९ मत, सिरहाको नवराजपुर गाउँपालिकामा विश्वमोहनप्रसाद यादवले २ हजार ३ सय ३ मत, धनुषाकै जनक नन्दनी गाउँपालिकामा अब्दुलबारिक शेखले २ हजार ७ सय १७ मत र धनौजी गाउँपालिकामा बद्रीनारायण सिंह विजयी हुनुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसबाटै सप्तरीको विष्णुपुर गाउँपालिकामा नीलाम्बर यादवले २ हजार १ सय ५५ मत, रौतहटको परोहा नगरपालिकामा शेख वकिलले ६ हजार ४ सय मत, सर्लाहीको धनकौल गाउँपालिकामा रामआश्रय साहले ४ हजार ५ सय २१ मत, सप्तरीको बेल्हीचपेना गाउँपालिकामा परमानन्द यादवले ३ हजार ४ सय ४५ मत, बाराको करैयामाई गाउँपालिकामा भुवनेश्वर धामीले ३ हजार ३ सय २९ मत, सर्लाहीको रामनगर गाउँपालिकामा कृष्णप्रसाद बर्माले ३ हजार ९ सय ८३ मत ल्याएर विजयी हुनुभएको छ।

त्यस्तै नेकपा एमालेका ४ स्थानीय तहमा विजयी भएका छन्। सप्तरीको सप्तकोशी नगरपालिकामा उत्तमकुमार शर्माले ४ हजार ३ सय ६१ मत, पर्साको पटेर्वा सुगौली गाउँपालिकामा हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिमा मनोज यादवले ३ हजार ५ सय ४० मत, धनुषाकै बटेश्वर गाउँपालिकामा डम्बरबहादुर राउतले २ हजार ३ सय ७७ मत ल्याएर विजयी हुनुभएको छ।

नेकपा माओवादी केन्द्रका ५ स्थानीय तहमा विजयी भएका छन्। सिरहाको कर्जन्हा नगरपालिकामा गंगा पासवानले ४ हजार ३ सय ९ मत, सिरहाको अर्नमा गाउँपालिकामा ठकु महतो कोइरीले २ हजार ४ सय ३६ मत, पर्साको ठोरी गाउँपालिकामा पदमलाल श्रेष्ठले २ हजार ८ सय २ मत, सिरहाको औरही गाउँपालिकामा सिद्धार्थ यादव र रौतहटको मौलापुर नगरपालिकामा रिना साहले ३ हजार ९ सय १२ मत ल्याएर विजयी हुनुभएको छ।

राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार पनि ५ स्थानीय तहमा विजयी भएका छन्। धनुषाको हंसपुर नगरपालिकामा रामज्ञान मण्डलले ३ हजार ३ सय २० मत, सर्लाहीको कौडेना गाउँपालिकामा रामप्रसाद राय यादवले ३ हजार २ सय ४४ मत, बाराको देवताल गाउँपालिकामा चन्दनकुमार सिंहले २ हजार ३ सय ३० मत, सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शिवनारायण साह, महोत्तरीको महोत्तरी गाउँपालिकामा सुनील राय र पर्साको कालिकामाई गाउँपालिकामा नथुनी कुशवाह निर्वाचित भएका छन्।

संघीय समाजवादी फोरम नेपालका ३ स्थानीय तहमा र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार २ स्थानीय तहमा विजयी भएका छन्।
संघीय समाजवादी फोरमबाट सिरहाका विष्णुपुर गाउँपालिकामा जागेश्वर यादवले १ हजार ९ सय ४० मत, भगवानपुर गाउँपालिकमा बेचनप्रसाद यादवले ३ हजार ५८ मत र सर्लाहीको पर्सा गाउँपालिकामा किसुनदेव रायले २ हजार ३ सय १६ ल्याएर विजयी हुनुभयो।
फोरम लोकतान्त्रिकबाट रौतहटको ईशानाथ नगरपालिकामा सन्तोष महत ५ हजार ७ सय ८५ मत र सर्लाहीको विष्णु गाउँपालिकामा जवाहरलाल यादव १ हजार ९ सय ४६ मत ल्याएर विजयी हुनुभएको छ।

यसैगरी, अहिलेसम्म ५ सय ९५ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ। मतगणना बाँकी रहेका १ सय ३ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सुचारु गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो।

त्यस्तै, राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका वडा नम्बर १५ मा बिहीबार शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्