मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरुलाइ निर्वाचन क्षेत्रमा जान राेक !


काठमाडौँ, ३० भदौ । निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नं २ का जिल्लामा असोज २ गते हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने नेपाल सरकारका मन्त्रीलाई उपस्थित नभइदिन आग्रह गरेको छ ।

मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्य मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्न सक्ने जनाउँदै आयोगले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई निर्वाचन हुने जिल्लामा उपस्थित नभइदिन आयोगले अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता उल्लङ्घन नहुने गरी मताधिकारको प्रयोगका लागि आफ्नो मतदान केन्द्र रहेको जिल्लामा मन्त्रीको उपस्थित हुनु स्वाभाविकै हो भन्दै आयोगले शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएकाले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई जिल्लामा उपस्थिति नभइदिन आग्रह गरिएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सो विषयमा मन्त्रीलाई अनुरोध गरी त्यसको जानकारी आयोगमा गराउन आयोगले बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका प्रजिअलाई पत्र पठाएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।