बसभित्रै महिलाको सम्वेदनशील अंगमा समात्ने डिग्री पढेका युवा पक्राउ !



काठमाडौं । काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातलाई महिलामैत्री बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत श्रावण १८ गतेबाट सुरू गरेको ‘सेफटी पिन अभियान’ अन्तर्गत एक महिनाको अवधिमा ७१ जना पक्राउ परेका छन् ।

सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुब्र्यबहारलाई न्यूनिकरण गरी उनीहरुको लागि सुरक्षित यात्रा गर्ने वातावरण वनाउन प्रहरीले ३३ वटा टोली बनाई उपत्यकामा गुड्ने बिभिन्न सार्वजनिक सवारी साधनमा सादा पोसाकमा निरन्तर रुपमा प्रहरी परिचालन गर्दै आएको छ । उपत्यकामा चल्ने सवारी साधनमा दुब्र्यबहार गर्नेलाई नियन्त्रणमा लिने क्रममा काठमाडौंबाट ६१ तथा ललितपुर र भक्तपुरबाट ५-५ जना पक्राउ परेका हुन् ।

सो अभियान अन्तर्गत यौनजन्य दुब्र्यबहार र अपशब्द गालीगलौज गर्ने ४८, अश्लिल हर्कत गर्ने १० र अन्य ५ जना, सार्वजनिक सवारी साधनमा पाकेट मार्ने ८ जनालाई नियन्त्रणमा लिएकोमा हिंसाको गाम्भीर्यता अनुसार २४ जनालाई मुद्दा चलाइएको र ४७ जनालाई यस्तो कार्य नदोहोरिने गरी आफन्तको जिम्मा लगाइएको सो कार्यालयले जनाएको छ ।

यौनजन्य दुब्र्यबहार र गालीगलौज गर्ने ४८ मध्ये सबै भन्दा बढि साधारण लेखपढ जानेको ३८ जना छन् भने स्नातकोत्तर गरेका १ जना समेत रहेका छन् । यस्तो हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ बर्ष उमेर समुहको बाहुल्यता रहेको देखिन्छ । यो अभियान ३ महिनासम्म निरन्तर संचालन हुने र त्यसपछि आवश्यकता अनुसार संचालन हुने भएकोले निर्धक्कसँग उजुरी गरे पीडितको गोपनियतालाई कायम राख्दै तुरुन्तै कारवाही गर्ने सो कार्यालयले जनाएको छ । उजुरीका लागि प्रहरीको हटलाईन १०० वा ९८५१२८९१११ मा खबर गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्