शिक्षा दिवसका दिन जिसिअको कुर्सी तोडफोड !

0
Shares

दिपेन्द्र शर्मा, जाजरकोट ।  बिद्यार्थीहरुको संयुक्त संघर्ष समितिले शुक्रवार जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोड गरेको छ। संयुक्त संघर्ष समितिले राखेका मागहरु पुरा नगरेको भन्दै कार्यकक्षमै पुगेर संयुक्त संघर्ष समितिले जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिंहको कुर्सी तोडफोड गरेको हो ।

छेडागाड नगरपालिका–१२ मनघाट स्थित चन्द्रज्योति आधारभुत विद्यालय र त्रिवेणीनलगाड नगरपालिका–६ पिउली स्थित जनप्रिय आधारभुत विद्यालयको प्राथमिक तहको राहत शिक्षक पदको परीक्षाको अन्तरवार्ताका बेला व्यबस्थापन समितिका अध्यक्ष भागेपछि एक महिना भन्दा बढी समय वितिसक्दा पनि शिक्षक नियुक्तिको प्रक्रिया रोकिएपछि विद्यालयको पठनपाठनमा समस्या आएको छ । डेढ महिना बितिसक्दा पनि शिक्षक नियुक्ति प्रक्रियाले पुर्णता पाउन नसकेको भन्दै विद्यार्थी संगठनहरुले केहि दिन अगाडी जिल्ला शिक्षा अधिकारीलाई तीन दिने अल्टीमेटम दिएर ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानकर्षण पत्रमा तीन दिन भित्र समस्या समाधान नभए जस्तोसुकै कदम चाल्न संयुक्त संघर्ष समिति बाध्य हुने उल्लेख गरिएको थियो ।

संयुक्त संघर्ष संमितिको नाममा ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्ने विद्यार्थी संगठनहरुमा नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ र नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रहेका थिए । जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले आफुहरुसंगको औपचारीक तथा अनौपचारीक भेट तथा छलफलमा यो समस्यालाई म तत्काल समाधान गर्छु भन्ने गरेको भएता पनि निकास दिन नसकेको नेकपा एमाले निकट अनेरास्ववियु, जाजरकोटका कावा अध्यक्ष प्रदिप खडकाले वताए । आजकै मिति र समय दिएर जिशिअ सिंहले आफुहरुलाई कार्यालयमा बोलाएर आफु कार्यालयमा नआएको कावा अध्यक्ष खड्काले आरोप लगाए । टेलिफोनद्धारा जिशिअ सिंहले आफुहरुलाई निर्वाचन आयोगले आचारसंहिता जारीगरिसकेको अबस्थामा केहि पनि गर्न सकिन्न भने पछि बाध्य भएर संयुक्त संघर्ष समितिले जिशिअको कुर्सी तोडफोड गरेको खड्काले स्वीकार गरे ।

यो समस्यालाई आईतवार सम्म पनि जिल्ला शिक्षा कार्यालयले समाधान नगरे संयुक्त संघर्ष समिति आईतवार देखिनै बाध्यकारी निर्णय लिन बाध्य हुने नेकपा निकट अखिल -क्रान्तिकारी_, जाजरकोटका अध्यक्ष प्रेमबहादुर शाहीले वताए । शिक्षक दरबन्दी रिक्त रहेको ७ महिना भन्दा बढि समय वितिसकेको विद्यालयका शिक्षक नियुक्तिको लागि लिखित परिक्षा लिएको पनि डेढ महिनाको समय बितिसकेको छ तर, विद्यालयले शिक्षक पाउन सकिरहेका छैनन् । राजनैतिक दलका नेताहरुको हस्तक्षेपका कारण जिल्ला शिक्षा कार्यालयले शिक्षक नियुक्ति प्रक्रियालाई रोकेको हुन सक्ने नेपाली कांग्रेस निकट नेविसंघ जाजरकोटका सचिव किशोर मल्लले वताए । राम्रा भन्दा पनि आफ्नालाई नियुक्ती गर्नुपर्ने अनौठो खेलले लामो समय सम्म प्रक्रिया रोकिएको सचिव मल्लले वताए । परिक्षामा आफ्ना मान्छे पास नहुने भएपछि दुवै बिद्यालयका अध्यक्ष भागेर शिक्षक नियुक्तीको प्रक्रियालाई नाटकिय बनाएको सचिव मल्लले आरोप लगाए ।

शिक्षक नियुक्तिका लागि लगिएको परिक्षाको अन्तरवार्ता साउन ७ गते भएर प्रक्रिया पुरा हुनु पर्नेमा हाल सम्म प्रक्रिया रोकिएको छ । उता जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले आफु विद्यार्थीहरुकै पक्षमा रहेको बताए। उनले शिक्षक नियुक्त गर्नका लागि पटक–पटक सम्बन्धित विद्यालयमा चिट्ठी लेखेको बताए। ‘अन्तवार्ता गराउन ७ दिने चिट्ठी लेखेँ। जवाफ नआएपछि ३ दिने लेखेँ। ३ दिने चिट्ठी लेखेछि २४ घण्टे चिट्ठी लेखें,’ उनले भने,‘त्यसपछि पनि अध्यक्ष र प्रअ नआएका कारण उनीहरुलाई उपस्थित गराइदिनका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेँ। जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई ल्यायो। उनीहरुले भोली नै अन्तरवार्ता गर्छौ भनेर सहमति गरेर कार्यालयबाट निस्किए।

त्यसपछि भागे।’ सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष उपस्थित नभई अन्तर्वाता गर्न नमिल्ने जिल्ला शिक्षा अधिकारी सिंहले बताए। उनले त्यसका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्धयलाई चेतावनीसहित पत्र समेत लेखेको बताए। ‘अब पनि नआए विद्यालय व्यवस्थापन समितिलाई असक्षम घोषणा गर्दै विघटन गर्ने पत्र लेखेको छु। मैले मात्रै शिक्षक भर्ना गर्ने होइन। सम्बन्धित विद्यालयका प्रअ र अध्यक्षले जिल्ला शिक्षा कार्यालयको रोहबारमा गर्ने हो।’ विद्यार्थीहरुले कानूनी प्रक्रिया नबुझी एक्कासी तोडफोड गर्नु दुखद भएको उनले बताए। ‘आज भेट्ने कार्यक्रम थियो। उनीहरु फोन गरेँ। म शिक्षा दिवसको कार्यक्रममा भएका कारण उनीहरुलाई भोली बसेर छलफल गरौंला भनेको थिएँ। तर कार्यालय समय सकिइसकेपछि साँझ साढे ६ बजेतिर उनीहरुले कुर्सी ताडफेड गरेछन्।

यस्तो अभद्र व्यवहारले समाजमा राम्रो सन्देश जाँदैन,’ सिंहले भने। उनले विद्यार्थीहरुको पढाईका विषयमा आफु पनि चिन्तित रहेको बताए। ‘विद्यार्थीहरुको पढाईका विषयमा चिन्तित भएकै कारण मैले विद्यालय व्यवस्थापन समितिलाई विघटन गर्नेसम्मको चेतावनी दिएको हुँ। तर मैले एक्लै शिक्षक भर्ना गर्ने होइन। त्यसमाथि निर्वाचनको आचारसंहिता लागेकोले अहिल्यै शिक्षक भर्ना गर भनेर विद्यालयलाई कर गर्न सकिन्न,’ उनले भने,‘ अहिलेसम्म मैले लेखेका सबै चिट्ठीको बोधार्थ निवेदकलाई समेत गराउने गरेको छु। सचेत भएर काम गरेको छु। मैले प्रयास गर्ने हो। छलफलका लागि सधैं खुला छु।’