नरेन्द्र केसी, दाङ । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’ अबको संघीय र प्रदेश चुनावपछि संघ र सातवटै प्रदेशमा माओवादी केन्द्र निर्णायक हुने बताउनुभएको छ ।
‘अब संघ र प्रदेशको चुनावमा कुनै पनि दलको स्पष्ट बहुमत आउने संभावना छैन’– नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन दाङको चौथो जिल्ला सम्मेलन घोराहीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो– ‘स्थानीय तह निर्वाचनदेखि हाम्रो अवस्थामा सुधार हुँदै गएको छ र अब अझै सुध्रन्छ, यो सबै हेर्दा अब संघ र सातैवटै प्रदेशमा माओवादी निर्णायक भूमिकामा रहने निश्चित भएको छ ।’
माओवादीले चुनावका लागि चुनाव मात्र नभएर चुनावलाई समाजवादी क्रान्तिकारीको तयारीको मोर्चाको रुपमा लिएको उल्लेख गर्दै उहाँले त्यसमा बैचारिक तयारीको ठूलो महत्व रहने बताउनुभयो । ‘हामी अबको चुनावपछि देशको अझ सशक्त निर्णायक शक्ति बन्दैछौं, यसको अर्थ केहीलाई सांसद वा मन्त्री बनाउने कुरा मात्र होइन’– पुनले भन्नुभयो– ‘सत्ता अभ्यासमार्फत राज्यसंयन्त्रमा हस्तक्षेप बढाउँदै समाजवादी क्रान्तिको तयारी गर्नु हाम्रो मुख्य लक्ष्य भएकाले बुद्धिजीवीहरुको भूमिका विचार निर्माणमा महत्वपूर्ण हुनेछ ।’
स्थानीय निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि पहिलेको भन्दा माओवादीको मत उल्लेख्य बढेको उहाँले बताउनुभयो । ‘विचार, एजेण्डा र त्याग हाम्रो भयो तर हाम्रै एजेण्डाअनुसार भएको चुनावमा हामीले नै किन सोचे जति परिणाम ल्याउँदैनौं ?’– नेता पुनले प्रश्न गर्दै भन्नुभयो– ‘हाम्रो मुख्य समस्या सवल संगठन नहुनु हो, अब पार्टीको पूरै ध्यान संगठन निर्माणमा केन्द्रित हुनेछ ।’
वर्ग संघर्ष सघनरुपमा अघि नबढ्दा संगठनजस्तै विचार निर्माणको क्षेत्रमा कमजोरी देखिएको औल्याउँदै उहाँले बुद्धिजीवीहरुलाई निरन्तर बौद्धिक विमर्शमा लाग्न सुझाव दिनुभयो । समाजवादी क्रान्तिका लागि क्रान्तिकारीलाई दक्ष र दक्षलाई क्रान्तिकारी बनाउनुपर्ने जोड दिंदै उहाँले यसमा बुद्धिजीवी संगठनले अगुवाइ गर्नुपर्ने बताउनुभयो । ‘पूँजीपति र मजदूर बर्गको अन्तर्विरोध हल गर्ने एक मात्र ब्यवस्था समाजवाद हो, हामी अब यसको ब्यापक प्रचार र बहसमा जानुपर्छ’– उहाँले भन्नुभयो ।
अध्यक्षमा गौतम
संगठनको जिल्ला सम्मेलनबाट माधव न्यौपाने अध्यक्षमा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा निर्मल गौतम र शेषमणि रिजाल, सचिव भीमसेन गिरी, सहसचिव महेश अधिकारी तथा सदस्यहरु ताराप्रसाद भुसाल, दधिराम खनाल, दीपबहादुर केसी, मदन पोख्रेल, लोकबहादुर बिसी, शोभा भुसाल, शान्ति श्रेष्ठ, अमर गिरी, ओम भुसाल, देवराज मल्ल, प्रदीप केसी, देबेन्द्र शर्मा र समुन पौडेल रहनुभएको छ । दंगीशरण, राप्ती र बंगलाचुलीबाट सदस्य थप गरिने संगठनले जनाएको छ ।
त्यस्तै संगठनले माधव गौतम, दिवाकर शर्मा, अरुणकुमार शर्मा, केदारप्रसाद आचार्य, अच्युतराज न्यौपाने, सर्जन गौतम, रमणुकमार शर्मा, मदनकुमार शर्मा, नरबहादुर अधिकारी, मेघराज सुवेदी, मस्तबहादुर श्रेष्ठ, नारायण भुसाल, चक्रबहादुर विश्वकर्मा, लोकराज आचार्य, श्रीधर पौडेल, ओमबहादुर कुँवर, अनन्तराज घिमिरे रहेको सल्लाहकार समिति गठन गरिएको छ ।











प्रतिक्रिया