अनुगमनको अभावमा बजारभरी अन्तःशुल्कका नक्कली स्टिकरको बिगबिगि

0
Shares

यमलाल भुसाल, बुटवल । सम्बन्धित नियमनकारी निकायको बेवास्ता तथा सुक्ष्म अनुगमनको अभावका कारण मदिरा बजारमा अन्तःशुल्कका नक्कली स्टिकरको बिगबिगि बढेको छ । बजारमा बिक्रि बितरणका लागि राखिएका बिभिन्न कम्पनीबाट उत्पादित नक्कली स्टिकर टाँसिएका मदिराका बोतल सर्बत्र भेटिने गरेका छन । प्रायः ग्रामिण भेगका साना बजार क्षेत्रमा भेटिने ति नक्कली अन्तःशुल्कका स्टिकर प्रयोग भएका मदिराका कारण करोडौं राजश्व ठगि भैरहेको छ भने सक्कली स्टिकर प्रयोगकर्ता मदिरा उद्योगी तथा ब्यबसायिहरु मर्कामा परेका छन ।

बिशेषगरि ग्रामिण भेगमा खपत हुने ५० यूपीशक्तिका १८० एमएल.का बोत्तलहरुमा नक्कली स्टिकर प्रयोग हुने गरेको छ भने शहरी क्षेत्रमा खपतहुने २५ यूपीशक्तिका ७५० एमएल.का बोत्तलहरुमा पनि भेटिने गरेको छ । यसप्रकारका नक्कली अन्तःशुल्क स्टिकर भारतमा छापिने र भन्सार नाकाबाट नेपाल भित्रिने भएकाले भन्सारका कर्मचारी, तस्कर र ठगि स्वभावका उद्योगी ब्यबसायिको मिलोमतोमा हुने गरेको आशंका गरिएको छ । कुनैपनि मदिराजन्य उद्योगमा उत्पादित मदिराका बोत्तलमा आन्तरिक राजश्व कार्यालयका कर्मचारीको प्रत्यक्ष निगरानीमा स्टिकर लगाईने भएकाले यसमा कर्मचारीको पनि मिलोमतो हुनसक्ने आशंका गरिएको छ ।

नेपालमा उत्पादन हुने बिभिन्न कम्पनीका बिभिन्न ब्राण्डका मदिरामा नक्कली स्टिकर टाँस्ने र बिक्रि बितरण गरि राज्य तथा उपभोक्तामाथि निरन्तर ठग्ने काम भैरहेको छ । बिशेषगरि ७० यूपीशक्ति, ५० यूपीशक्ती, ४० यूपीशक्तिका मदिरामा बढि मात्रामा नक्कली स्टिकर प्रयोग हुने गरेको पाइएको छ भने ३० यूपीशक्ती र २५ यूपीशक्तीका मदिराका बोत्तलमा पनि यदाकदा भेटिने गरेको कतिपय जानकारहरु बताउछन । कतिपय अवस्थामा यहाँका उद्योगी ब्यबसायिहरुले नै त्यसप्रकारका नक्कली स्टिकर राखिएका मदिरा बरामद गरि सम्बन्धित निकायलाई बुझाउँदा पनि कारबाही नगरिएको उनिहरुको गुनासो छ ।

त्यस्ता नक्कली स्टिकर टाँसिएका मदिरा उत्पादकलाई कारबाहीका नाममा मोटो रकम लिएर उन्मुक्ति प्रदान गर्ने गरिएको आफ्नो नाम नबताउने शर्तमा एक मदिरा उद्योगीले जानकारी गराए । उनले भने– हामीले निकै प्रयत्न गर्यौ, पटकपटक समातेर बुझायौं पनि तर कुनै कारबाही हुँदैन, उल्टै हामी आँखी हुने काम मात्र भयो । अहिले पनि हामीसँग त्यसप्रकारका नक्कली स्टिकरधारी मदिरा प्रसस्त बरामद गरिएका उदाहरण छन, हामी छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा छौं । अर्का उद्योगीले सरकारले नै बिभिन्न समयमा बिभिन्न किसिमका एकआपसमा बाझिने निर्णय गरेर चोरी गर्नेलाई प्रोत्साहन गर्ने गरेको आरोप लगाए । उनले भने– कहिले स्टिकर अभाव भएकाले भन्दै उत्पादन रोक्न लगाउछ, कहिले प्ुरानो बाँकी स्टिकर बुझाउनुस नयाँ लानुस भन्छ, कहिले नयाँ छैन पुरानो लगेर काम चलाउनुस भन्छ, यसरी चोरी गर्नेलाई घुमाउरो पाराले मौका दिने काम सरकारले नै गरेको छ ।

मदिरा उद्योगी तथा ब्यबसायिहरुका अनुसार सामान्य उपभोक्ताले नक्कली स्टिकर चिन्दैनन् । सम्बन्धित क्षेत्रका बिज्ञहरुले मात्र चिन्ने भएकाले पनि यो गैरकानुनी कार्य बिस्तारै फस्टाउदै गएको हो । त्यसो त सक्कली स्टिकर प्रयोग गर्न गम लगाउनु पर्ने हुन्छ भने नक्कली गमयुक्त स्टिकर हुनाले लगाउन पनि सजिलो हुन्छ । करोडौं राजश्व ठगि गर्ने उद्देश्यले गरिने यसप्रकारको कार्यलाई निरुत्साहित गर्न तत्काल कडा भन्दा कडा कारबाही गरिनुपर्ने धारणा कतिपय मदिरा उद्योगी तथा ब्यबसायिहरुको छ । यसप्रकार नक्कली स्टिकर पैठारी गर्ने, मदिराका बोत्तलमा टाँसी बजारमा पठाउने, बिक्रि बितरण गर्ने आदी सबैलाई आवश्यक छानबिन गरि कारबाही गर्नुपर्ने धारणा मदिरा उद्योग संघको छ । मदिरा उद्योग संघका केन्द्रिय महासचिव तथा पश्चिमान्चल क्षेत्रिय संयोजक राजु गुरुङ्गका अनुसार अहिले बजारमा देखिएका नक्कली स्टिकरधारी मदिरा जफत गरि दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउनु पर्छ ।

नेपालमा उत्पादन हुने मदिराका लागि पहिले भारतमा छापिएका स्टिकर प्रयोग हुने गरेको र त्यहाँबाट छापिएका स्टिकर चोरी पैठारी हुने क्रम बढेपछि हाल केहीबर्ष यता ईन्डोनोसियाबाट छपाई गरि ल्याउने नेपालमा गरिन्छ । केहीबर्ष यतादेखि ईन्डोनोसियाबाट स्टिकर आउन थालेपछि तस्करहरु भारततर्फ नक्कली स्टिकरको खोजीमा लागेको बुझिएको छ ।

आन्तरिक राजश्व बिभागका अनुसार अहिले बजारमा भेटिएका नक्कली स्टिकर भारतका तिनै पहिले स्टिकर छाप्ने कम्पनीबाट चोरी पैठारी भएको हुनसक्छ । हालै बिरगंज भन्सार नाकाबाट नेपाल भित्रिँदै गरेको अवस्थामा ८६ हजार ४ सय ७० थान नक्कली स्टिकर बरामद गरिएको छ । बरामद अबैध स्टिकरमा ५० यूपीशक्तीको १ सय ८० एमएलको बोत्तलमा राखिने ६७ हजार ३ सय ७० थान र २५ यूपीशक्तीको ७ सय ५० एमएलको बोत्तलमा प्रयोग हुने १९ हजार १ सय १० थान रहेको जनाइएको छ । बिरगन्ज स्थित भन्सारमा जाँचपास गर्ने क्रममा फेला परेको सो नक्कली स्टिकरका कारण करिब २ करोड रुपैयाँ राजश्व छलिहुन बाट जोगिएको छ । यसअघि २०६८ सालमा पनि ठुलो मात्रामा नक्कली स्टिकर नेपाल ल्याउँदै बरामद गरिएको थियो । त्यतिबेला ७० यूपीशक्तिको बोत्तलमा प्रयोग हुने ५६ हजार थान अबैध स्टिकर जफत गर्दा २४ लाख राजश्व ठगिहुनबाट जोगिएको थियो ।

यसरी अबैध रुपमा उत्पादन तथा पैठारी हुने अन्तःशुल्कका नक्कली स्टिकर नियन्त्रणका लागि नियमनकारी निकाय, मदिरा उद्योगी, ब्यबसायि, संघ संस्थाहरु र आम उपभोक्ताहरु समेत सचेत हुनुपर्ने सरोकारवालाहरुको धारणा छ । अबैध रुपमा उत्पादन तथा पैठारी हुने अन्तःशुल्कका नक्कली स्टिकर नियन्त्रण हुन सकेको खण्डमा राजश्व संकलनमा पनि बृद्धि हुने भएकाले सरकार र निजिक्षेत्रको समन्वय आवश्यक रहेको सरोकारवालाहरुको भनाई छ ।

बे्रकरमा राख्ने समाचार
मदिरा उद्योगी तथा ब्यबसायिहरुनै बजार अनुगमनमा उत्रिए ः अन्तःशुल्कका नक्कली स्टिकरधारी मदिरा बरामद
बुटवल, २४ भाद्र । सरोकारवाला निकायले बेवास्ता गरेको भन्दै रुपन्देहीका मदिरा उद्योगी तथा ब्यबसायिहरुनै बजार अनुगमनमा निस्किएका छन । अनुगमनका क्रममा नक्कली अन्तःशुल्कका स्टिकर टाँसिएका मदिराका बोत्तलहरु फेला परेका छन । बुटवलदेखि पश्चिम सालझण्डीसम्म बिभिन्न मदिरा पसलहरुमा गरिएको आकस्मिक अनुगमनमा बिभिन्न कम्पनीका बिभिन्न ब्राण्डका मदिराहरु बरामद गरिएको छ ।
सालझण्डी स्थित रोमित स्टोरमा राखिएको चरी लिकर्स प्राली बलेनी, सिन्धुलीबाट उत्पादित भुन्टे र निम्तो नामक ५० युपिशक्तिका १ सय ८० एमएलको ६ पेटी मदिरा बरामद गरिएको छ । यसैगरि बुटवल ८ स्थित गंगा स्टोरबाट पनि त्रिशक्ति डिस्टिलरी ललितपुरबाट उत्पादित ५० युपिशक्तिको १ सय ८० एमएलको मदहोश नामक मदिरा १ पेटी बरामद गरिएको मदिरा उद्योग संघले जनाएको छ ।
संघका अनुसार सम्बन्धित नियमनकारी निकायको बेवास्ता तथा सुक्ष्म अनुगमनको अभावका कारण मदिरा बजारमा अन्तःशुल्कका नक्कली स्टिकरको बिगबिगि बढेको हो । बजारमा बिक्रि बितरणका लागि राखिएका बिभिन्न कम्पनीबाट उत्पादित नक्कली स्टिकर टाँसिएका मदिराका बोतल सर्बत्र भेटिने गरेको संघका केन्द्रिय महासचिव तथा पश्चिम क्षेत्र संयोजक राजु गुरुङ्गले बताए । गुरुङ्गले भने–प्रायः ग्रामिण भेगका साना बजार क्षेत्रमा भेटिने ति नक्कली अन्तःशुल्कका स्टिकर प्रयोग भएका मदिराका कारण करोडौं राजश्व ठगि भैरहेको छ । साथै सक्कली स्टिकर प्रयोगकर्ता ईमान्दार मदिरा उद्योगी तथा ब्यबसायिहरु भने चरम मर्कामा परेका छन ।
पटक पटक मदिरा बजारमा प्रसस्त मात्रामा नक्कली स्टिकर प्रयोग भएको बारे प्रमाण सहित सरकारी निकायमा जानकारी गराउँदा कुनै पहल नभएपछि उद्योगी ब्यबसायि आफै बजारमा उत्रिनु परेको संघका पश्चिमान्चल उपाध्यक्ष बिरेन्द्र रानाले बताए । उनले भने– हामी प्रमाण लिएर आन्तरिक राजश्व कार्यालय र बिभागमा समेत नक्कली स्टिकर लिएर प्रमाण सहित पुग्यौं तर कुनै किसिमको चासो राखिएन, यहाँ भन्दा दुःखको कुरा के हुन सक्छ ।