तेह्रथुम, २१ भदौ । तेह्रथुम आठराई सक्रान्ति बजारका अग्निपीडितको सहयोगका लागि सरकारले रु एक करोडसहितको विशेष राहत प्याकेज घोषण गरेको आठ महिना वितिसक्दा पनि उपलब्ध हुन सकेको छैन् ।
महिनौं बितिसक्दा पनि राहत रकम उपलब्ध नभएपछि अग्निपीडित चिन्तित भएका छन् । गत पुस १ गते आठराई गाउँपालिका संक्रान्ति बजारमा भिषण आगलागी भएको थियो ।
गत पुस १९ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सो क्षेत्रको स्थलगल निरीक्षण तथा अग्निपीडितसँग भेटघाट र छलफलसमेत गर्नुभएको थियो । भेटघाट र छलफलपछि पूर्वप्रधानमन्त्री दाहालले “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” बाट रु एक करोड उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
गृह मन्त्रालयबाट पीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि रु एक करोड उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयको सहमति माग भएकोमा अर्थ मन्त्रालयबाट पीडितका लागि सहुलियत ऋण उपलब्ध गराउने मात्र सहमति भएपछि घोषणा भएको रु एक करोड पीडितलाई उपलब्ध नहुने देखिएको छ ।
आगलागीबाट पूर्ण रुपमा क्षति भएका २६ घरधनीले आवस निर्माणका लागि २ प्रतिशत ब्याजदरमा सहुलियत ऋण पाएका छैनन् ।
अग्निपीडित परिवारलाई “व्यावसाय पुनःस्थापित गर्न बिनाधितो न्यूनतम ब्याजदरमा ऋण दिने” तत्कालीन प्रधानमन्त्री प्रचण्डले आफ्नो भाषणमा उल्लेख गर्नुभएको थियो । घरधनीलाई मात्र सहुलियत ऋण आउने भएपछि ठूलो क्षति भएका व्यापारीलाई सम्बोधन नभएको ताप्लेजुङबाट संक्रान्तिबजार आएर व्यापार गर्दै आएका पीडित दीपेश प्रसार्इंले दुखेसो व्याक्त गर्नुभयो ।
“लाखाँैको लगानीको व्यापार खरानी भएको छ ।” पीडित प्रसार्इंले भन्नुभयो, “राहात प्याकेज घोषणाले व्यपार पुनःस्थापनामा सहयोग हुने आशा थियो, तर राहत प्याकेज भाषणमा मात्र सीमित भयो ।” तेह्रथुमको संक्रान्तिबजारमा भएको भीषण आगलागीबाट २६ घर परिवारको ३२ घर जलेर पूर्णरुपमा नष्ट हुँदा ७३ परिवार विस्थापित भएका थिए ।
संक्रान्तिबजारका २६ घरधनीलाई जिल्ला दैवीप्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमा मात्र सहुलिय ब्याजदरमा ऋण उपलब्ध हुने भनिए पनि ऋण लिने प्रक्रियामै अन्योल भएको पीडित सुभाष गौतमले बताउनुभयो ।
“विशेष राहत प्याकेजको अनुभूति समेत गर्न पाइएन”, गौतमले भन्नुभयो, सहुलिय भनिएको ऋण उपलब्ध भए आवास पुनःनिर्माणको लागि सहज हुने थियो ।
आगलागी पीडितका लागि राहत प्याकेजको घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री दाहालले अग्निपीडित परिवारलाई पुनःनिर्माण तथा व्यावसाय पुनःस्थापित गर्न बिना धितो न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रान्ति बजारमा वृहत खानेपानी आयोजनासहितको फायर हाइड्रेलको सञ्चालन, दमकल खरिद, आठराइमा चाडै केन्द्रीय प्रशारणलाइन विस्तार गरिदिनेसमेत प्याकेजमा घोषणा गर्नु भएको थियो । तर स्थानीयवासीले अहिलेसम्म प्याकेजको महसुससमेत गर्न पाएका छैनन् ।
त्यस्तै संक्रान्ति बजारमा तत्कालै नेपाल बैंक तथा कृषि विकास बैंकका शाखा पुनःस्थापनाका लागि आवश्यक पहल गरिने बताए पनि अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन् । आठराईबासीले सरकारी बैंकका सुविधा लिन सदरमुकाम म्याङलुङमा ६८ किलोमिटर हिलाम्मे बाटोको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयवासीको गुनासो छ ।
विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशन, तेह्रथुम सदरमुकाम म्याङलुङ–वसन्तपुर सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मोटर पुलको निर्माण, तमोर नदीको तटीय क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्थाका साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यक्रममार्पmत गरिने सरकारी आश्वासन पाएपनि स्थानीयवासीका लागि ती आश्वासन फुस्रा बन्दै गएका छन् । रासस